• १२ साउन २०८१, शनिबार

कोभिडको असरबाट तङ्ग्रिन योजना बन्दै छ : मन्त्री शर्मा

blog

काठमाडौँ, माघ ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयको कार्यक्षेत्र र मन्त्रालयले गर्नुपर्ने सबै काम निर्भीक ढङ्गले कुशलतापूर्वक सम्पादन गर्ने बताउनुभएको छ। उहाँले त्यसका लागि आफूले सकारात्मक प्रयत्न गर्ने वचन पनि दिनुभएको छ।

राससलाई दिनुभएको अन्तर्वार्तामा उहाँले सरकारका प्राथमिकता, नीति तथा कार्यक्रममा समेटिएको बताउँदै तीबाहेक खट्किएका विषयलाई पनि समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो। सूचना र प्रविधिको सही तरिकाले प्रयोग हुने हो भने हाम्रा धेरैजसो समस्या समाधानको बाटोमा जान्छन् भन्दै उहाँले विकास र समृद्धिको बाटोमा अगाडि बढ्न प्रविधिको उचित प्रयोग गर्न नसकेको स्पष्ट पार्नुभयो। 

“समग्र प्रदेश र स्थानीय तहमा प्रविधिको पहुँच र प्रयोग गर्न सक्ने हो भने सुशासन कायम गर्न र समृद्धिको बाधकका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्न पनि सकिन्छ,” उहाँले भन्नुभयो। मन्त्री शर्माले सञ्चार क्षेत्रमा केही समस्या भए तिनको हल गर्न सरकारले पहल गर्ने बताउनुभयो। कोभिड–१९ को असर मिडिया क्षेत्रमा पनि रहेको स्वीकार गर्दै उहाँले यसबाट तङ्ग्रिन समग्र योजना बन्दै गरेको जानकारी दिनुभयो।