• १३ असोज २०८१, आइतबार

तिलनारायणको दर्शनमा व्रतालु

blog

भक्तपुर, माघ ५ गते । भक्तपुरको हनुमन्तेस्थित हनुमान घाटमा माधवनारायणका व्रतालु हिँड्दै गएर बुधबार तिलनारायणको दर्शन गरेका छन्। दर्शनपछि तिलनारायणदेखि हनुमान घाटसम्म करिब दुई किलोमिटर पुरुष व्रतालु ‘सिनमं तुलेगु’ (गुल्टिँदै), ‘दुंदायगु’ (शरीरले बाटो नाप्दै), शङ्ख फुक्दै फर्केका थिए। 

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दु धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको एक महिनासम्म व्रत बसी मनाउने गरिन्छ। साँखुमा माधवनारायण मेला सुरु हुने दिन नै भक्तपुरमा पनि नारायण मेला सुरु हुन्छ। एक महिनासम्म चल्ने मेलामा व्रतालुसँगै माधवनारायणलाई नगर परिक्रमा गराइन्छ। 

बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्दपुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ।

संस्कृतिविद् ओम धौभडेलले व्रत बस्ने विधि कठिन भएको जानकारी दिँदै व्रतालुको शरीर त के छायामा पनि छुन हुँदैन भन्ने जनविश्वास रहेको बताउनुभयो। 

ने.सं. ७२२ माघ धलं नामक व्रतधर्म माघ महिनाभरि माधवनारायणको अनुष्ठान गरी माघ पूर्णिमा कथा सुन्ने चलन चलिआएको कुरा पुरानो थ्याः सफु (किताब)मा उल्लेख गरिएको छ। उक्त व्रतानुष्ठान भक्तपुरका राजोपाध्याय ब्राह्मणले पनि चलाउँदै आएका थिए।

ने.सं. ८४९ मा रणजित मल्लले आफ्ना छोराहरूलाई यस व्रतमा संलग्न गराई माधवनारायण, लक्ष्मी, सरस्वतीको ढुङ्गाको मूर्ति हनुमान घाटमा स्थापना गरी उक्त व्रतधर्म भक्तपुर उपाकर्म गुठीबाट आलोपालो चलाएको धौभडेलले जानकारी दिनुभयो। उहाँले वि.सं. २०४२ तिर श्रद्धालु भक्तजनले ‘माघव्रत’को पुनरुत्थान गरी हनुमान घाटमा माधवनारायणको पूजा, व्रतकथा श्रवण आदि चलेको हो। यो हालसम्म पनि परम्पराकै रूपमा चलिआएको उहाँले प्रस्ट पार्नुभयो।