• ६ वैशाख २०८२, शनिबार

सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ : सञ्चारमन्त्री

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौं, वैशाख ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताउनुभएको छ । 

शुक्रवार काठमाडौंमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिन लाग्दासमेत दर्ता नगरेको बताउनु भयो । 

नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउन सकिने उहाँको भनाइ छ । उहाँले देशको स्वाभिमान बिथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्ने बताउनु भयो । फेक आइडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवर्धन हुनेगरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको बताउनु भयो । सामाजिक सञ्जालहरु नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘हामीले भनेका छौँ सामाजिक सञ्जालको प्रयोग र सञ्चालनको नियमन गर्ने विधेयक ल्याएका छौँ । त्यो विधेयक राष्ट्रिय सभामा मैले प्रस्तुत गरिसकेको छु  तर त्यो बीचमा गएर रोकिराखेको छ । किन रोकिएको छ भन्ने सबैलाई थाहा छ । आज सोसल मिडिया प्लेटफर्म जस्लो चलाइरहेको छ नि जस्ले सञ्चालन गर्छ । त्यो सञ्चालन गर्नेहरुले यो मुलुकको संविधान मान्नु पर्ने कि नपर्ने ? जस्तो मेटा भनौँ, गुगल, टिकटक। यिनीहरुले नेपालमा काम गर्ने भएपछि नेपालको कानून मान्ने कि नमान्ने ? नेपालको संविधान मान्नु पर्ने कि नपर्ने ? यहाँ दर्ता हुनुपर्ने कि नपर्ने ? उनीहरुले जे खालको कन्टेन्टहरु पस्कन्छ त्यसबाट हाम्रो नेशनल युनिटी, राष्ट्रिय स्वाधीनताको बारेमा बोलिदियो भने र त्यसले समाजमा ठुलो प्रभाव सिर्जना गर्‍यो भने त्यसलाई हामीले के गर्ने ?  सबैभन्दा ठूलो कुरा देश हो । देशको स्वाधिनता, भौगोलिक अखण्डता र एकता हो । स्वाधिनताको विरुद्ध जे जे संप्रेषण हुन्छ सोसल मिडियाबाट, त्यो सञ्चालकलाई नियमन गर्नुपर्छ भनेको हो । त्यो भनेको प्रेस फ्रिडमलाई खोस्ने भनेको होइन । जस्ले जे लेखेपनि भाछ, फेक आइडी बनाएर मनपरी लेखिरहेको छ । समाजिक सद्भाव भड्काइरहेको हुन्छ । हाम्रो जातीय सद्भाव भड्काइरहेको हुन्छ । धार्मिक सहिष्णुतालाई भड्काइरहेको छ । पहिला पनि हामीले तीन महिनाको सूचना जारी गरेको दर्ता गर्न आऊ भनेर । अहिले एक महिनाको सूचनाको दुई तीन दिन बाँकी छ कोही आउँदैन । मेटा जस्ले फेसबुक चलाउँछ मेसेन्जर चलाउँछ, ह्वाट्सएप चलाउँछ, इन्स्टाग्राम चलाउँछ दर्ता गर्न किन आउँदैन ? सरकारलाई नै टेर्दैन उसले नेपाललाई नै टेर्दैन उसले । तेरो टोटल जिडिपी भन्दा त हाम्रो जिडिपी बढी, तेरो वार्षिक बजेट भन्दा हाम्रो धेरै गुणा बढी भन्ने उसको घमण्ड छ, अहंकार छ । त्यो घमण्ड गरेर बस्यो भने प्रतिबन्ध लाग्छ मैले भन्देको छु । होइन हामी चल्छौँ भन्ने हो भने आउनु पर्‍यो ।’’

सञ्चारमन्त्री गुरुङले नेपाल धार्मिक सहिष्णुताको अनुपम उदाहरण भएको बताउनु भयो । उहाँले विभिन्न जातजाती तथा धर्मका अनुयायी मिलेर बसेको नेपाल विविधतामा एकता भएको बताउनु भयो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग गरी विदेशीहरुले नेपालको धार्मिक सहिष्णुतालाई खल्बलाउन नेपालीलाई कमजोर बनाउन खोजेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘धार्मिक सहिष्णुतको अनुमन उदाहरण कहीँ छ भने नेपालमै छ । यसैमा हमला भएको छ सामाजिक सञ्जालबाट । अनलाइन मिडियाको माध्यमबाट । त्यो कुरा त हामी सबैले स्वीकार्छौँ नि । १२४ भन्दा बढी भाषाभाषीको मान्छे बस्छन् यहाँ, यति धेरै विविधता छ । डाइभरसिटीभित्र युनिटी खोज्ने कुरा त जसरी हामी मिलेर बसेका छौँ । सांस्कृतिक सदभाव छ, जातीय सद्भाव छ हाम्रो । यही जातीय सद्भावलाई भत्काउन खोज्दैछ । नेपालीलाई कमजोर बनाउन लागेका छन् ।

सञ्चारमन्त्री गुरुङले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पत्रकार महासंघलगायत सबै पत्रकार सङ्घ संगठनसँग छलफल गरेर अगाडि बढाउने बताउनु भयो । 

यो पनि पढ्नुहोस