• १३ असोज २०८१, आइतबार

चिया पसलेको पहलमा हाटबजार

blog

जीवछ यादव 

लहान, माघ ५ गते । लहान नगरपालिका–१३ स्थित शिव चोकमा सोमबार र बिहीबार साप्ताहिक कृषि हाटबजार लाग्न थालेको छ। हाटबजार लगाउने श्रेय कुनै विशेष दल र जनप्रतिनिधिलाई जाँदैन, चिया पसले गोपाल कार्कीलाई जान्छ।  

कार्कीले लहान नगरपालिकाको मुख्य चोकदेखि १० किलोमिटर पश्चिम–उत्तरमा चिया पसल राख्नुभएको थियो। उहाँले दुई वर्षसम्म चिया पसलमा आउने समाजका अगुवालाई हाटबजारका चलाउनका लागि आग्रह गरिरहनुभयो। 

एक जना त्यागी बाबाले त्यहीँ यज्ञ गर्नुभयो। शिवको मन्दिर निर्माण भयो। उहाँको हटिया लगाउने चाहनाले मूर्त रूप पायो। चिया नास्ताको पसल चलाएर छोराछोरी हुर्काउन र पढाउन पाउनुभयो।  चिया पसले कार्की हाट लागेकोमा धेरै नै खुसी हुनुहुन्छ।  

अर्का किराना पसले श्रीराम महतो भन्नुहुन्छ, “यस ठाउँमा हटिया लगाउने गोपाल कार्कीको योगदानलाई हामी स्थानीय व्यापारीले बिर्सन सक्दैनौँ। यस ठाउँमा हप्तामा दुई पटक हाट लाग्न थालेपछि उत्तरी भेगका किसानहरू निकै लाभान्वित भइरहेका छन्। हटिया लाग्न थालेपछि तरकारी खेती र उखु खेती गर्ने स्थानीय कृषकहरू उत्साही भएका छन्।”  

चौध वर्षदेखि लागिरहेको शिव चोक हटियामा सत्र वर्षदेखि कार्कीले चिया पसल गर्दै आउनुभएको हो। लहान–१३, मलहनमाका कार्की भन्नुहुन्छ, “सुरुमा चिया पसल गर्दा एक/दुई लिटर दूध चिया बनाउन ल्याउँदा खपत हुँदैनथ्यो। अहिले ३० लिटर दुध ल्याउँदा पनि पुग्दैन। शिव चोकको हटियामा नुनदेखि सुनसम्मका व्यापार गर्ने व्यापारीहरू आउँछन्। सुरक्षाको भरपर्दो व्यवस्था हुनुपर्नेमा स्थानीय रानमकिसुन महतोले जोड दिनुभयो। उहाँले प्रहरी चौकी, खेतीको लागि सिँचाइ र दुध डेरी र शीत भण्डार भए यस भेगका किसान मजदुरका दिन फिर्ने बताउनुहुन्छ। 

शिव चोकलाई नमुना हटिया लगाउन सडक, नाला सुरक्षा र अन्य धेरै काम गर्न बाँकी रहेको वडाध्यक्ष मनोजकुमार कोइरालाले बताउनुभयो। उहाँले भन्नुभयो, “लहान नगरपालिकाले कृषि हाटबजार व्यवस्थापन र हाटबजार लगाउन योगदान गरेको गोपाल कार्की जस्ता चिया पसलेलाई सम्मान गर्ने कार्यक्रम आउनेछ।”