• १३ असोज २०८१, आइतबार

पाँच स्थानीय तहमा हिउँदे अधिवेशन

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, माघ ५ गते ।  सिन्धुली जिल्लाका नौवटा स्थानीय तहमध्ये पाँच स्थानीय तहले हिउँदे अधिवेशन सम्पन्न गरेका छन् ।

जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, घ्याङ्लेख गाउँपालिका, तीनपाटन गाउँपालिका र फिक्कल गाउँपालिकाले हिउँदो अधिवेशन (गाउँ/नगर सभा) पुस मसान्तभित्र सम्पन्न गरेका हुन् । हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका र गोलन्जोर गाउँपालिकाले तयारी नपुगेको भन्दै हिउँदे अधिवेशन गर्न बाँकी रहेको जनाएका छन् ।

हिउँदे अधिवेशनमा स्थानीय तहले चालू आर्थिक वर्ष २०७९/८० का लागि विजियोजित बजेट र नीति तथा कार्यक्रमको प्रगति तथा छलफल, संशोधन, कार्यक्रमको समीक्षासँगै ऐन  र कार्यविधि पारितलगायतका काम गरेको पालिकाहरूले जनाएका छन् । फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले हिउँदे अधिवेशनमा एउटा ऐन पास गर्नुका साथै कार्यपालिकाका निर्णयहरू अनुमोदन र खर्चको समीक्षा गर्दै सम्पन्न गरेको जानकारी दिनुभयो ।

घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको समीक्षा गर्दै खर्च हेरफेर गरेर हिउँदे अधिवेशन सम्पन्न गरेको बताउनुभयो । 

यस्तै तीनपाटन गाउँपालिकाका उपाध्यक्ष अशोक पुलामीले केन्द्रबाट प्राप्त अनुदान बजेट आइनपुगेको तथा स्थानीय तहमा पनि सङ्कलन नभएकाले पुराना योजनाहरू संशोधन गरेको बताउनुभयो । विकासको अवस्था, बजेटको खर्च विवरण, राजस्व सङ्कलन, कार्यक्रमको उपलब्धि, गुनासा र समस्याका बारेमा छलफल गर्दै हिउँदे अधिवेशन सम्पन्न गरिएको कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले जनाएका छन् । यो वर्ष निर्वाचनका कारण पनि विकास बजेट र अन्य कार्यको प्रगति सन्तोषजनक हुन नसकेको स्थानीय तहको भनाइ छ । 

हिउँदे अधिवेशन गर्न बाँकी रहेका पालिकाले माघ महिनाभरिमा सम्पन्न गर्ने बताएका छन् । सुनकोसी गाउँपालिकाका अध्यक्ष दीपा बोहोराले हिउँदे अधिवेशन गर्न तयारी नपुगेकाले पुस महिनाभित्र गर्न नसकेको र माघ १५ सम्म सम्पन्न गर्ने गरी तयारी थाल्न विषयगत शाखाहरूलाई निर्देशन दिएको सुनाउनुभयो ।