• १३ असोज २०८१, आइतबार

गोरखापत्रकर्मी चालिसे सम्मानित

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, माघ ४ गते । गोरखापत्रका पत्रकार राधा चालिसे सम्मानित हुनुभएको छ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला तथा त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्री डा. तारानाथ घिमिरेले उहाँलाई गीता पौडेल आत्रेय स्मृति प्रज्ञा पुरस्कार, २०७९ बाट सम्मानित गर्नुभयो ।  

आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङ सर्भिसेज प्रालिले स्थापना गरेको उक्त पुरस्कार कम्पनीको बुधबार आयोजित सेवा विस्तार उद्घोषण तथा सम्मान कार्यक्रममा  सो सम्मान प्रदान गरिएको हो । चालिसेसहित अन्य ६ जना पत्रकारलाई पनि उक्त पुरस्कारबाट सम्मानित गरिएको छ । 

सम्मानित हुनेहरूमा कृष्ण भुसाल, शम्भु ढुङ्गाना, विद्या राई, गीता अधिकारी, भूमिकला पौडेल र दीपेन्द्रप्रकाश केसी हुनुहुन्छ । कम्पनीको सेवा विस्तार उद्घोषण समारोहमा प्रा.डा कोइरालाले नेपाललाई गुरुराष्ट्र बनाउने अभियानमा लाग्ने विद्वानहरूले आत्मरति गरेर मात्र नपुग्ने बताउनुभयो । 

नेपाल राष्ट्र बैङ्कका पूर्व उपनिर्देशक खगेन्द्र गौतमले अस्तित्व व्यवस्थापनले ब्रह्माण्डको रहस्य र पृथ्वी र मानव जीवनमा त्यसले पार्ने प्रभावका बारेमा व्याख्या र विश्लेषण गर्दै आवश्यक सुझावहरू दिने क्षमता राख्ने बताउनुभयो । उहाँले अस्तित्व व्यवस्थापनका प्रवर्तक डीपी आत्रेयको ज्ञानलाई राष्ट्र र समाजले सयमामा नै पहिचान गर्न सक्नुपर्ने बताउनुभयो । 

प्राध्यापक तारानाथ घिमिरेले अस्तित्व व्यवस्थापन नेपाल मात्र नभई विश्वमा नै नयाँ विधा भएको चर्चा गर्नुभयो । कम्पनीका निर्देशक डीपी आत्रेयले आफूले ३३ वर्ष लगाएर गरेको अध्ययन अनुसन्धान र त्यसबाट आएका नतिजाहरूको विश्लेषण र प्रभावपछि अस्तित्व व्यवस्थापन विधालाई सार्वजनिक गरेको बताउनुभयो ।