• १३ असोज २०८१, आइतबार

घरमै सुत्केरी गराउँछन् हुम्लाका अधिकांश महिला

blog

राजन रावत

हुम्ला, माघ ४ गते । एउटै वडाका ३१ जना गर्भवती महिला सुत्केरी हुँदा अहिलेसम्म एक जनाले मात्र अस्पतालमा गएर सुत्केरी गराउनुभएको छ । प्रसूति गृहमा सुत्केरी गराउँदाका फाइदा र स्वास्थ्य चौकी टाढा भएपछि गर्भवती महिलाहरू घरमै सुत्केरी गराउनुपरेको बताउनुभएको छ । 

खार्पुनाथ गाउँपालिका –४ को छिप्रा स्वास्थ्य चौकीका संयोजक कालीबहादुर शाहीले साउन यता ३१ जना गर्भवती महिला भएको रेकर्ड भए पनि हालसम्म एक जना गर्भवतीको संस्थागत सुत्केरी गरिएको बताउनुभयो । गर्भवती महिला गर्भजाँच गराउन नियमित आउनेगरेको भए पनि सुत्केरी हुनेबेला नआउनेगरेको उहाँको भनाइ छ । 

जनचेतनाको कमी र प्रसूति गृह टाढा भएका कारण यो समस्या तेर्सिएको उहाँले बताउनुभयो । हालसम्म १८ जना महिला घरमै सुत्केरी भएको जानकारी आफुसलाई आएको बताउँदै यसको दोष गाउँमा स्थापना भएका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई लगाउनुभयो । 

जम्मा गर्भवतीमध्ये तीन जना जिल्ला अस्पतालमा गएर सुत्केरी हुनुभएको थियो । अब नौ जना गर्भवती महिला सुत्केरी हुन बाँकी रहेको भए पनि उहाँहरू के गर्नुहुन्छ अहिले भन्न नसकिने बताउनुभयो । संस्थागत सुत्केरी गराउन गर्भवती महिला नआएपछि उहाँहरूले पाउने सेवा सुविधा समेत स्वास्थ्य चौकीले रोकेको छ । 

खार्पुनाथ गाउँपालिका –४ नल्न गाउँकी जस्मती शाहीले छिप्रा स्वास्थ्य चौकीमा रहेको प्रसूति गृहमा संस्थागत सुत्केरी गराउने महिलाको सङ्ख्या ज्यादै न्यून रहेको बताउनुभयो । उहाँले परिवारका सदस्य, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको लापरबाहीका कारण यसरी प्रस्रुत गृहमा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्यामा कमी आएको बताउनुभयो । 

महिला वडा सदस्य समेत रहनु भएकी शाहीले प्रसूति गृह टाढा भएका कारण पनि गर्भवतीहरू घरमै सुत्केरी हुने गरेको बताउनुभयो । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले संस्थागत सुत्केरी गराउने गर्भवती महिला कम आउनु राम्रो नभएको बताउँदै स्वास्थ्य चौकीलाई सचेत गराउने बताउनुभयो ।