• १३ असोज २०८१, आइतबार

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ

blog

छविलाल पाण्डे 

बुटवल, माघ ४ गते । लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । 

सभामुख घर्ती मगरले शपथ लिएपछि उपसभामुख मेनुका केसी खाँडलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित एक समारोहमा सभामुख र उपसभामुख दुवैले शपथ लिनुभएको हो । 

लुम्बिनी प्रदेशको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड मंगलबार निर्विरोध निर्वाचित हुनुभएको थियो । सोही दिन दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभामुख र उपसभामुखमा एक–एक जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । 

सभामुखमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्तीको एकल मनोनयन दर्ता भएको थियो । उपसभामुखमा तीन जनाको मनोनयन परेको थियो । नागरिक उन्मुक्तिले उपसभामुखका उम्मेदवार निर्मलादेवी चौधरी र कांग्रेसले विश्वप्रेम पाठकलाई उपसभामुखबाट उम्मेदवारी फिर्ता लिन निर्देशन दिएपछि राप्रपाकी मेनुका केसी खाँड निर्विरोध हुनुभएको थियो ।