• ८ पुस २०८१, सोमबार

मासिन थाल्यो वनमौरी

blog

यादवराज पुरी 

रौतहट, माघ ४ गते । वनका ठूला र अग्ला रुख मासिएपछि अचेल वनमौरी (स्थानीय भाषामा ‘घारे’ वा ‘खाँगमौरी’) बिरलै देखिन थालेको छ। 

अनधिकृत रूपमा वनजङ्गल फडानी गरी बस्ती बसेपछि अग्ला रुख मासिँदै आएका छन्। तस्करले वनका ठूला र अग्ला रुख कटान गरी चोरी निकासी गर्नाले बास स्थान नै नभएर वनमौरी कम देखिन थालेको हो। वनमौरीले घार बनाउन रुचाउने वनका ठूला र अग्ला रुख मासिएपछि ती प्रजातिको मौरी सहर बजारको अग्ला पानी ट्याङ्कीमा वा घरको ‘टप’ तल बसेको देखिन्छ। 

विगतमा साल तथा सिमलको रुखमा पाँच/दसवटै घार लगाएर बसेको देखिने वनमौरी वन विनाश भएपछि अहिले गाउँघरमा कतैकतै मात्र देखिन्छ। डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत रामप्रसाद साह भन्नुहुन्छ, “वनमौरी शान्त स्वभावको हुन्छ र सुनसान स्थानमा बस्न रुचाउँछ। नबिच्काएसम्म मौरीले कसैलाई आक्रमण गर्दैन। वनमौरी मासिनुको मूल कारण वैधानिक वा अवैधानिकतवरले वन विनाश भई मौरीको बास हराउनु नै हो। अर्को प्रमुख कारण मह तस्करले धुवाँ र चक्कुको प्रयोग गरी मह निकाल्दा ठूलो सङ्ख्यामा मौरी मर्ने हुँदा पनि यसको सङ्ख्या कम भएको हो।”

अत्यधिक चिसो, अत्यधिक तातो र हावाहुरी जस्तो वातावरणीय प्रभावको कारण पनि वनमौरी सङ्कटमा परेको जिल्ला मह उत्पादक सङ्घका पदाधिकारी समिरबाबु कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार तोरीको फूलबाट मह बनाउन रुचाउने घरमौरी पनि तोरीमा अत्यधिक विषादीको प्रयोगले मर्न थालेपछि सङ्कटापन्न अवस्थामा पुगेको छ। 

चन्द्रपुर नगरपालिकाका कृषि अधिकृत उमेश चौधरी भन्नुहुन्छ, “मौरीपालन आयआर्जनको स्रोत हो। महमा विविध औषधिय गुण हुन्छ। सौन्दर्य प्रसाधनका रूपमा पनि मह उपयोगी मानिन्छ। कुनै पनि जातको मौरी मासिनु वातावरणीय दृष्टिकोणले राम्रो मानिदैँन। मौरीको संरक्षणबाट प्रभावकारी परागसेचन कार्यमा थप मद्दत पुग्ने र बोटबिरुवाको उत्पादनमा वृद्धिभई अन्ततः खाद्य सुरक्षाको प्रत्याभूति हुने विश्वास गरिएको छ।”