• १३ असोज २०८१, आइतबार

काठमाडौँ ल्याइयो अठचालीस शव

blog

पोखरास्थित सेती नदी खोंचमा आइतबार यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ज्यान गुमाएकाहरुको पहिचान हुन नसकेपछि शव पोष्टम्याटमका लागि काठमाडौं ल्याइयो । तस्बिर : रासस

काठमाडौँ, माघ ४ गते । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका ४८ जनाको शव काठमाडौँ ल्याई पोस्टमार्टम सुरु गरिएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले शवको पोस्टमार्टम थालिएको जानकारी दिँदै शव पूर्ण रूपमा जलेको हुनाले पोस्टमार्टम गर्न समय लाग्ने बताउनुभयो। काठमाडौँमा पोस्टमार्टम गर्न ल्याइएका शव आफन्तले समेत चिन्न सक्ने अवस्थामा छैनन्। 

दुर्घटनामा मृत्यु भएका शवमध्ये २२ जनाको शव सनाखत गरेर आफन्तको जिम्मा लगाइसकिएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार बिहान ४८ जनाको शव काठमाडौँ ल्याइएको थियो। 

थप एक जनाको शव प्राप्त 

पोखरा समाचारदाताका अनुसार विमान दुर्घटनामा परेका एक जनाको मात्र अवस्था अज्ञात रहेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार सम्पर्कविहीन रहेका दुई जनाको खोजी कार्यमा जटिल भएपछि सेती नदीको पानी घटाइएको थियो। सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ। 

नदीको पानी घटाइएसँगै मङ्गलबार गोताखोरसहित ड्रोनको प्रयोग गरी शवको खोजी गर्दा सेती खोँच दुर्घटनास्थलभन्दा करिब सात सय मिटर तल पानीमा एक महिलाको शव भेटिएको हो। शव पोस्टमार्टमका लागि पोखराको रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। 

दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार सात जना र मङ्गलबार एक जनाको गरी ७१ जनाको शव फेला पारिएको सहायक प्रजिअ अनिल शाहीले जनाउनुभयो। अब एक जनाको मात्र अवस्था अज्ञात रहेको छ। दुर्घटनामा मृत्यु भएका २२ जनाको शव पोखरामै पोस्टमार्टम गरी कानुनी प्रक्रिया पूरा गराई आफन्तको जिम्मा लगाइएको छ भने बाँकी ४८ जनाको शव नेपाली सेनाको हेलिकोप्टर र जहाजमार्फत मङ्गलबार काठमाडौँ पठाइएको हो। 


पत्रकार पौडेलको अन्त्येष्टि

यती एयरको विमान दुर्घटनामा परेर निधन हुनुभएका पत्रकार त्रिभुवन पौडेलको मङ्गलबार अन्त्येष्टि गरिएको छ। पत्रकार पौडेलको शवलाई नेपाल पत्रकार महासङ्घ कास्की तथा प्रदेशको प्राङ्गणमा श्रद्धाञ्जलिका लागि राखिएको थियो। उहाँलाई श्रद्धाञ्जलि अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तक उपस्थित भएका थिए। 

श्रद्धाञ्जलि सभामा मुख्यमन्त्री खगराज अधिकारी,  नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे, मन्त्रीहरू, सांसदहरू, नेपाल पत्रकार महासङ्घका केन्द्रीय पदाधिकारीहरू, पत्रकारका साथै विभिन्न सङ्घसंस्था, राजनीतिक पार्टी, नागरिक समाज, पर्यटन व्यवसायी तथा शुभचिन्तकहरू भेला भएका थिए। पर्वतको कुस्मा नगरपालिका आर्थरमा जन्मनुभएका पौडेलका आमा, पत्नी र एक छोरा हुनुहुन्छ।