• १२ साउन २०८१, शनिबार

राजनीतिक विषयमा सहकार्य गरेर अघि बढ्न प्रधानमन्त्री प्रचण्डको आह्वान

blog

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको सर्वदलीय बैठक । तस्बिर : प्रदीपराज वन्त,रासस

काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक विषयहरूमा सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ । मंगलबार अपराह्न  बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उहाँले सो आग्रह गर्नुभएको हो । 

राष्ट्रियतालगायतका सबै राजनीतिक ‘इस्यू’हरुमा सहकार्यका साथ अघि बढ्न बैठकमा प्रधानमन्त्रीले सबै दलहरूलाई आग्रह गर्नुभएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

त्यस अवसरमा प्रधानमन्त्री दाहालले तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पदको चयनबारे पनि छलफल गरेर अघि बढ्न सकिने धारणा राख्नु भएको उहाँको भनाइ छ ।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्नुभयो, ‘‘देशमा हुने सम्पूर्ण राजनीतिक ‘इस्यू’ हरुमा सहमतिका प्रयत्नहरू भइराख्नु पर्छ । सहमतिका साथ अगाडि बढ्नुपर्छ भन्ने भावहरू प्रधानमन्त्रीले राख्नु भयो । त्यसलाई सबैले सकारात्मक रूपमा लिनुभयो । एउटा सद्भाव बैठकजस्तो गरेर आजको बैठक टुङ्गियो । राष्ट्रिय इस्यूसहितका सम्पूर्ण विषयहरूमा के गर्न सकिन्छ भनेर एक खालको खुला दृष्टिकोण प्रधानमन्त्रीले राख्नुभएको थियो ।’’

सञ्चारमन्त्री शर्माका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखबारे यही गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको धारणा थिएन । त्यसमा चाहिँ समय क्रममा सबै राजनीतिक ‘इस्यू’हरुमा सहमतिका साथ अगाडि बढ्नुपर्छ । जस्तो राष्ट्रियताको ‘इस्यू’हरू हुन्छन् । सीमा समस्याका इस्यूहरु हुन्छन् । अरू नि थुप्रै विषय छन् । ती सबै विषयहरूमा छलफल, सहकार्य गरेर सहमतिको आधारमा अगाडि बढ्नुपर्छ भनेर भन्नुभयो । 

सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘प्रधानमन्त्रीले संसदबाट असाधारण बहुमत प्राप्त गर्नुभयो । त्यसका निम्ति उहाँले सबै दललाई धन्यावाद भन्नुभयो । यो उहाँको दायित्व र कर्तव्य पनि हो । अरू सबै दलहरूले पनि सकारात्मक धारणा राख्नुभएको थियो । एमाले अध्यक्ष के.पी. शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको पनि धारणा सकारात्मक थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा सत्तारुढ दलको नेता, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहनु भएको ओलीले सबै राजनीतिक दललाई उहाँले पनि धन्यवाद भन्नुभयो ।’’ 

बैठकमा एमाले अध्यक्ष केपी ओलीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको भन्दै सत्तारुढ दलहरूको तर्फबाट सबै राजनीतिक दलहरूलाई धन्यवाद समेत दिनुभएको थियो । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै राष्ट्रिय  मुद्दामामा भने सहमति गरेर अघि जान तयार रहेको धारणा राख्नुभएको थियो । 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शङ्कर पोखरेल, एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायत उपस्थित हुनुहुन्थ्यो।