• ११ मंसिर २०८१, मङ्गलबार

२२ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

blog

काठमाडौं, माघ ३ गते । नेपालगञ्जको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका २२ हजार १० जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका ४२ हजार ९८० बालबालिकामध्ये ५१.२१ प्रतिशत अर्थात् २२ हजार १० बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका हुन् ।

सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले पुस २२ गतेबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको छ ।

श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिकाका ७ वटा वडामा खोप अभियान सकिएको जानकारी दिनुभयो । सो वडाका ९५ प्रतिशतभन्दा बढी बालबालिकालाई खोप लगाइएको श्रेष्ठको भनाइ छ ।

खोप अभियान सकिएपनि सात वटा वडाका खोप लगाउन छुटेका बालबालिका खोजेर खोप लगाउने कार्य भइरहेको जिल्ला कार्यालयले बाँकेले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका खोप लगाउन बाँकी २० हजार ९७० बालबालिकालाई र खजुरा गाउँपालिकाका १८ हजार ४५९ र गरी ३९ हजार ४२९ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने लक्ष्य सरकारको छ ।

मङ्गलबार उपमहानगरपालिका भित्र १६ वडाका ३० खोप केन्द्र र खजुरा गाउँपालिकाका ८ वटै वडाका १७ खोप केन्द्र गरी ४७ वटा खोप केन्द्रमार्फत दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भएको छ ।

दादुरा सङ्क्रमितको सङ्ख्या १९५ पुग्यो

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा सङ्क्रमणबाट १९५ जना बालबालिका सङ्क्रमित भएका छन् ।

पुस १२ गतेबाट फैलिएको सङ्क्रमण सङ्क्रमितमध्ये नेपालगञ्जमा १८९, खजुरामा तीन, कोहोलपुरमा दुई र नरैनापुरमा १ गरी सङ्क्रमितको सङ्ख्या १९५ पुगेको छ । जसमध्ये एक जनाको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये ५१ जना होम आइसोलेसनमा उपचाररत छन् भने १४३ जना निको भइसकेका छन् ।