• १२ साउन २०८१, शनिबार

उपप्रधानमन्त्री लिङ्देनद्वारा पदभार ग्रहण

प्राथमिकता निर्धारण गर्न तीन सदस्यीय कार्यदल गठनको निर्णय

blog

पदभार ग्रहणपछि उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङदेन । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ ३ गते । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ । उपप्रधानमन्त्री पदको शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उहाँले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा मङ्गलवार दिउँसो पदभार ग्रहण गर्नुभएको हो । त्यसक्रममा उहाँले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्यदल बनाउने पहिलो निर्णय पनि गर्नुभयो । 

विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्यदल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले यो मन्त्रालय अन्तर्गत हुने कामहरूको बारेमा योजनाबद्ध ढङ्गले कामलाई अगाडि बढाउनका लागि विगतमा भएका कामहरूको अनुभवसमेतलाई ध्यानमा राखेर ती सबैलाई अध्ययन गर्दै आगामी पाँच वर्षमा ऊर्जा, जलस्रोत र सिँचाइको क्षेत्रमा हामीले योजनाबद्ध ढङ्गले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरू के के हुन् ? र, कसरी हामी अगाडि जान सक्छौँ ? हाम्रा आवश्यकता र प्राथमिकताहरू निर्धारण गर्न र पाँच वर्षे एउटा रणनीतिक योजना बनाउनका लागि एउटा कार्यदल बनाउने निर्णय अहिले गरेका छौँ । तीन सदस्यीय कार्यदल बनाएका छौँ ।’’

उहाँले मन्त्रालयकै सहसचिवको नेतृत्वमा योजनाबद्ध ढङ्गले काम गरियो भने मात्रै त्यसले ठोस परिणाम प्राप्त गर्न सक्ने पनि बताउनुभयो । ‘‘हामी कति अगाडि बढ्यौँ भनेर देख्न पनि सकिन्छ । त्यसैले एउटा योजना र रणनीति निर्माण गर्न यो काम उपयुक्त हुन्छ भनेर कार्यदल गठन गरेका छौँ । हामी सनातन धर्ममा विश्वास गर्ने मानिसहरूले कुनै पनि शुभकाम प्रारम्भ गर्दा अथवा शुभकाम गरिसकेपछि त्यसको स्थायित्वको कामना गर्नका लागि आफ्ना पितृहरूलाई सम्झने, आफ्ना भगवान्हरूलाई सम्झने, आफ्ना आस्था देवीदेवतासँग जाने जुन परम्परा छ त्यही परम्परा अन्तर्गत हामी सबैको आराध्यदेव पशुपतिनाथमा मन्त्री पदको शपथ ग्रहण गरेपछि आफ्नो कामको प्रारम्भ गर्नुभन्दा अघि पशुपति दर्शन गर्न गएका हौँ । मन्त्रालयहरू कुनै पनि राम्रो/नराम्रो भन्ने हुँदैन । सबै मन्त्रालयको आ–आफ्नो ठाउँमा महत्त्व छ ।  त्यसमा पनि नेपालजस्तो देशको लागि ऊर्जा मन्त्रालयको, त्यसमा पनि त्यहाँ सिँचाइ र जलस्रोत पनि छ । त्यो महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु मेरा लागि एउटा महत्त्वपूर्ण अवसरका रूपमा मैले लिएको छु,’’ उहाँले भन्नुभयो । 

उपप्रधानमन्त्री लिङ्देनले भन्नुभयो, ‘‘मन्त्री भन्नेहरूले सरकारमा गयो कि बिग्रिहाल्छ जानै हुँदैन है राजेन्द्र लिङ्देनजस्ता मानिसहरू भन्थे । नेपालको सन्दर्भमा सरकार जानु, मन्त्री हुनु भनेकोनै चुनौतीपूर्ण जस्तो ठानिन्छ । किनकि त्यहाँ गएपछि मान्छे बिग्रिन्छ नै भनेर । त्यसकारण नबिग्रेका मानिसहरू त्यहाँ जानुहुन्न भन्ने मेरा शुभेच्छुकहरूले बिहानसम्म पनि सुझाव दिइरहनुभएको थियो । लाग्छ, यो चुनौतीपूर्ण छ । तर म यसलाई अवसरमा परिणत गर्छु । मलाई त्यो दृढ विश्वास छ ।’’

नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतीपूर्ण रहे पनि त्यसलाई अवसरमा बदल्ने दृढतासमेत व्यक्त गर्नुभयो । उहाँले सञ्चारकर्मीमाझ शुभकाम सुरु गर्नुअघि देवीदेवताको दर्शन गर्न जाने नेपालीहरूको चलन रहेकाले आफूहरू पनि पदभार ग्रहण गर्नुअघि पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री लिङ्देनसहित राप्रपाबाट मन्त्री हुनुभएका सबैले राष्ट्रपतिबाट शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गर्नुभएको थियो ।

‘जनताको म्यान्डेट अनुसार सरकार बनाएका हौँ’

काठमाडौं, माघ ३ गते । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले जनताले दिएको म्यान्डेट अनुसार सत्तारुढ दलहरूले मिलेर सरकार बनाएको बताउनुभएको छ । 

अलगअलग विचार र सिद्धान्त भए पनि जनताले दिएको म्यान्डेटलाई आत्मसात् गरेर आफूहरूले मिलेर सरकार बनाउनुपरेको उहाँको भनाइ थियो । आफूसहित पार्टीबाट बनेका नवनियुक्त मन्त्रीहरूसहित पशुपतिनाथ दर्शन गर्न पुग्नुभएका उपप्रधानमन्त्री लिङ्देनले नेपाली जनताले कुनै एक पार्टी, विचार  वा सिद्धान्तलाई विश्वास नगरेपछि दलहरूले मिलेर सरकार बनाउनुपरेको स्पष्ट पार्नुभयो । 

उहाँले सत्तारुढ दलहरूले मुलुकको आवश्यकता अनुसार ठिक ढङ्गले सहकार्य गरेको र कुनै पनि खालको नराम्रो काम आफूहरूको तर्फबाट नहुने दाबीसमेत गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रहनुभएका उपप्रधानमन्त्री लिङ्देनले आफ्नो दलको विचार वा सिद्धान्तभन्दा पनि देश र जनतालाई केन्द्रमा राखेर राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा एक ठाउँमा उभिएर मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘पहिलो त, हाम्रो आस्थाको कुरा हो । हामी ईश्वरमाथि, भगवानमाथि, सनातन परम्परामाथि विश्वास गर्छौँ । र, कुनै पनि शुभकार्य गर्नभन्दा अगाडि र पछि पनि त्यसको स्थायित्वको लागि कुनै पनि कर्म गरिसकेपछि त्यसको स्थायित्वको लागि पनि हामीले आफ्ना पितृहरूलाई, आफ्ना भगवान्हरूलाई सम्झने हाम्रो सनातन परम्परा छ । त्यसै बमोजिम आज राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नवनियुक्त हामी मन्त्रीहरूले आफ्नो कार्य प्रारम्भ गर्नु अघि हामी सबैको आस्थाको केन्द्र पशुपतिनाथको दर्शन गरेर आफ्नो काम प्रारम्भ गर्नु राम्रो हुन्छ, शुभ हुन्छ भन्ने ठानेर हामी पशुपति दर्शन गर्न आएका हौँ । अहिलेको संसदमा सिद्धान्त मिल्नेहरू मात्रैको त कसैको पनि सरकार बन्ने अवस्था नै छैन ।’’

उहाँले भन्नुभयो, ‘‘जनताको आदेश नै अहिलेको संसदीय निर्वाचनमा यस्तो भयो कि कुनै एउटा राजनीतिक पार्टीमाथि मात्रै, कुनै एउटा विचारमाथि मात्रै जनताको विश्वास रहेन । जनताले तिमीहरू मिलेर काम गर्नुप¥यो । तिमी अलगअलग पार्टीहरू, अगलअगल विचारका मानिसहरू अहिले आफ्नो विचारभन्दा, सिद्धान्तभन्दा देश र जनतालाई केन्द्रमा राखेर खासगरी राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा एक ठाउँ उभिएर मिलेर जाने म्यान्डेट प्राप्त भएको छ र अहिले जुन सहकार्य हामीले प्रारम्भ गरेका छौँ ।’’

उहाँले अलगअलग विचार, अलगअलग दृष्टिकोण भएकाले सरकार बनाए पनि विकासका मुद्दामा एक भएर देशलाई अस्थिरताबाट जोगाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राष्ट्रियतालाई मजबुत बनाउने, सुशासन कायम गर्ने, विकासलाई तीव्रता दिने, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने भनेर हामीहरू एकठाउँ भएका छौँ । यो कुनै पनि प्रकारको बेमेल प्रकारको सहकार्य होइन । हामीले अहिले देशको आवश्यकता अनुसार ठिक ढङ्गले यो सहकार्य गरेका छौँ । हामी कुनै पनि नराम्रो काम  गर्दैनौ ।’’

उपप्रधानमन्त्री लिङ्देनले आफूले रोजाइ अनुसारकै मन्त्रालय पाएको  बताउनुभयो । उहाँले शुभकार्य गर्नुअघि देवीदेवताको दर्शन गर्ने चलन अनुसार नै आफूहरूले पदभार ग्रहण गर्नुअघि पशुपतिनाथको दर्शन गरेको पनि उल्लेख गर्नुभयो ।