• ३० असार २०८२, सोमबार

फुङ्लिङ बजारभित्रको सडक कालोपत्रे

blog

भर्खरै कालोपत्रे गरिएको फुङ्लिङ बजारको नेपाल बैङक–गोसलाइन सडक खण्ड । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, असार ३० गते ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारभित्रको अढाई किलोमिटर बढी सडक कालोपत्रे गरिएको छ । मेची राजमार्ग हुँदै फुङ्लिङ नगरपालिकाको कार्यालय जोड्नेसहित बजारभित्रका विभिन्न सडकहरु कालोपत्रे गरिएको हो ।

फुङ्लिङ नगरपालिकाले मुख्य बजारभित्रका सडकहरु निर्माण कम्पनी र उपभोक्ता समितिमार्फत कालोपत्रे गरेको हो । नगरपालिकाभित्रको २.५४७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । उक्त दूरी बराबर कुल तीन करोड ९८ लाख ५६ हजार ७२३ रुपियाँ बजेटको लागतमा बजार क्षेत्रको सडक कालोपत्रे गरिएको हो ।

फुङ्लिङ नगरपालिकाका प्राविधिक हेमराज बिष्टका अनुसार बजार क्षेत्रको तोक्मेडाँडादेखि कफीहाउस लाइन हुँदै नगरपालिका कार्यालय जोड्ने ७७५ मिटर सडक कालोपत्रे गरिएको छ । दुई करोड ४१ लाख ७४ हजार ८० रुपियाँ बजेटमा पूर्णविनायक–पोमु–कञ्चनजङ्घा जेभी निर्माण कम्पनीले उक्त सडक कालोपत्रे गरेको प्राविधिक बिष्टले जानकारी दिनुभयो ।

बिष्टका अनुसार मेची राजमार्गस्थित सशस्त्र प्रहरी सुरक्षा जाँच पोष्टदेखि फुङ्लिङ नगरपालिका कार्यालय जोड्ने १४० मिटर सडक स्थानीय उपभोक्तामार्फत कालोपत्रे गरिएको । यो सडक २० लाख रुपियाँ बजेटमा कालोपत्रे निर्माण गरिएको हो । यस्तै हेलिप्याड हुँदै सशस्त्र प्रहरी गुल्म जाने सडक खण्डको १४४ मिटर कालोपत्रे गरिएको छ । उपभोक्ता समितिमार्फत सडक कालोपत्रे गरिएको र बजेट १५ लाख रुपियाँ रहेको थिया ।

यसैगरी, पराजुली चौक–बैङ्कलाइन–गोसलाइन–रेडक्रससम्म ७९८ मिटर सडक कालोपत्रे गरिएको छ । ममता–शक्तिकुण्ड जेभी कम्पनीले ७९ लाख ८२ हजार ७२३ रुपियाँको लागतमा उक्त सडक मर्मत तथा कालोपत्रेको काम गरेको हो । फुङ्लिङ बजार क्षेत्रको दोबाटोदेखि हुलाक कार्यालय झर्ने बाटोसम्म ५०० मिटर सडक उपभोक्ता समितिमार्फत नै २२ लाख रुपियाँको लागतमा कालोपत्रे गरिएको छ ।

त्यस्तै उकाली पानीस्थित मेची राजमार्गदेखि गुरुङ गुम्बासम्म १९० मिटर सडक पनि कालोपत्रे गरिएको छ । सो सडक स्थानीय उपभोक्ता समितिमार्फत नै २० लाख रुपियाँ बजेटमा कालोपत्रे गरिएको प्राविधिक बिष्टले जानकारी दिनुभयो । सदरमुकामभित्रको मुख्य सडक यसअघि नै कालोपत्रे र ढलान गरी पक्की बनाइएको भए पनि सहायक अर्थात भित्री सडकहरु अहिलेसम्म कालोपत्रे हुन सकेको थिएन ।

फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पहलकदमी अघि बढाएसँगै बजार क्षेत्रका सडकहरु कालोपत्रे गर्न थालिएको नगर प्रमुख मादेनका स्वकीय सचिव अञ्चल गुरुङको भनाइ छ । बजारभित्र एक ठाउँदेखि अर्को ठाउँ वा टोल र चौक जोड्ने सहायक सडकहरु कालोपत्रे गरिएपछि यातायात सञ्चालनमा सहज भएको स्थानीयले बताएका छन् । सडक कालोपत्रे गरेपछि यातायात सञ्चालनमा सहजतासँगै धुलो हिलो नियन्त्रण भएको नेपाल बैङ्क लाइनका व्यवसायी केशव भट्टराईले बताउनुभयो ।

सदरमुकाम बजारभित्र नै रहेको मेची राजमार्ग पनि भत्किएको र खाल्डाखुल्डी परेका ठाउँमा मर्मत तथा कालोपत्रे गरिँदै आएको छ । सडक डिभिजन इलामले यसअघि मेची राजमार्गको फुङ्लिङ बजार क्षेत्रभित्र सिमेन्ट, रड र गिटीद्वारा ढलान गरिएको सडक खण्डमा अहिले धमाधम मर्मत सम्भारसँगै कालोपत्रे निर्माण गरिरहेको छ । यता साँघुरो अवस्थामा रहेको मेची राजमार्गको बजार खण्ड चौडा अर्थात विस्तार गर्ने योजनाअनुसार एक वर्षअघि सडक किनार तथा छेउछाउका संरचनाहरु भत्काइएका छन् ।

मेची राजमार्गले छोएको बजार क्षेत्रका घर तथा अन्य संरचना भत्काएको वर्ष दिन बित्दासमेत सडक विस्तार गर्ने काम सुरु हुन सकेको छैन । सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईका अनुसार फुङ्लिङ बजारभित्रको सडक खण्डको बाँकी काम अघाडि बढाउनलाई अहिलेसम्म बजेटको व्यवस्था गरिएको छैन । सो सडक विस्तारका लागि फुङ्लिङ नगरपालिकाका प्रमुख मादेन समेतको समन्वयमा बजेटका लागि पहल भइरहेको सडक डिभिजन प्रमुख भट्टराईले बताउनुभयो ।