चितवन समाचारदाता
चितवन, असार ३० गते । मध्यपहाडी राजमार्गको भोर्ले–दाहखानी खण्डको निर्माण ८५ प्रतिशत सकिएको छ । मुग्लिङ–नारायणगढ सडकखण्डको भोर्लेबाट पहाडको बाटो हुँदै पूर्वी मकवानपुर जोड्ने गरी निर्माण गरिएको सडकको एउटा खण्डको सम्पन्न गरिने तयारी भइरहेको छ ।
निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत निर्माण थालिएको सडकले पहाडी क्षेत्रका बासिन्दालाई भरतपुर र पूर्वी क्षेत्रसँग जोड्ने काम गर्छ । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले विसं २०७९ असार २८ गते सम्झौता भएको यस सडकको म्याद थप गरेर आउँदो पुससम्म निर्माण सम्पन्न गर्नुपर्ने रहेको बताउनुभयो । चितवनको निर्वाचन क्षेत्र नंं. २ को पहाडी क्षेत्रतर्फ जाने रणनीतिक सडक अन्तर्गत निर्माण भएको हो । गत वर्ष सरकारले बजेट नपठाएपछि निर्माण रोकिएको थियो । सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर घिमिरेले भन्नुभयो, “जिल्लामा सङ्घीय तीन निर्वाचन क्षेत्र छन् । ती क्षेत्रमा रणनीतिक सडक निर्माण योजना अघि सारिएको हो । त्यसै अन्तर्गतको सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।”
रणनीतिक सडकमध्येको एउटा नारायणगढ–मुग्लिङ सडक अन्तर्गत भोर्लेदेखि चौकीडाँडा हुँदै दाहखानीसम्म जाने सडक र दाहखानीदेखि उपरदाङगढी हुँदै मकवानपुर जोड्ने गरी निर्माण कार्य भइरहेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १५ करोड ३७ लाख रुपियाँमा ठेक्का लागेको सडक अहिले बर्सातले गर्दा काम गर्न कठिन भएको छ । पानी नपरेको समयमा निर्माण कार्य गरिराखेको इन्जिनियर घिमिरेले बताउनुभयो । पहिलो चरणका लागि अहिले १५ किलोमिटर सडक निर्माण भइरहेको हो ।
धार्मिक तथा ऐतिहासिक क्षेत्र चौकीडाँडा हुँदै दाहखानी जाने यो सडकको चितवनको पुरानो सदरमुकाम उपरदाङगढीसम्म ट्र्याक खोलिएको छ । भोर्लेबाट आएको सडकले उपरदाङगढी जोडिन्छ । शक्तिखोरबाट उपरदाङगढी हुँदै फिसलिङसम्म जोड्ने सडक निर्माण भइसकेको छ । धेरै स्थानमा कालोपत्रे सम्पन्न भएको सडकमा भोर्ले–दाहखानी हुँदै उपरदाङगढी निर्माण सम्पन्न भए यस क्षेत्रको विकाससँगै पर्यटकीय क्षेत्रको विकास हुने यसै निर्वाचन क्षेत्रका पूर्वसांसद कृष्णभक्त पोखरेलले बताउनुभयो ।
अहिले १५ किलोमिटर क्षेत्रमा निर्माण हुँदै गरेको सडक कम्तीमा पाँचदेखि धेरैमा सात मिटरसम्म चौडा बनाइएको छ । उच्चस्तरीय ग्राभेल भएको सडकमा पानीको निकासका लागि नाला बनाइएको छ । सडक निर्माण पूरा भएपछि ठुला सवारीसाधन सञ्चालन गर्न कुनै समस्या नहुने इन्जिनियर घिमिरेले बताउनुभयो । केही स्थानमा ढलान गरिएको छ भने अन्य स्थानमा उच्चस्तरीय ग्राभेल गरिएको जानकारी उहाँले दिनुभयो ।
भरतपुर महानगरपालिका–२९ मा निर्माण हुँदै गरेको सडक पहाडको बाटो हुँदै इच्छाकामना गाउँपालिका जोडिने छ । पहाडी क्षेत्रमा बाटो र बिजुली अभाव भइरहेको अवस्थामा सडक निर्माणले ग्रामीण क्षेत्रका उत्पादनले बजार पाउने आशा जागेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।