• २ असार २०८१, आइतबार

लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती निर्विरोध निर्वाचित

blog

छविलाल पाण्डे 

बुटवल, माघ ३ गते । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीमगर निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखको उम्मेदवारीमा उहाँको मात्रै मनोनयन भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । 

उपसभामुखमा भने तीन जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुनका अनुसार प्रदेश सभाको आज दिउँसो बस्ने बैठकमा उपसभामुखको निर्वाचन हुनेछ । उपसभामुखका लागि नेपाली काँग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गराएका छन् । 

सत्ता साझेदार दलहरूबिच भएको सहमति अनुसार सभामुख माओवादीले पाउँदा उपसभामुख राप्रपाले पाउनेछ । उपसभामुखमा नेपाली काँग्रेसका विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ ।