• १२ साउन २०८१, शनिबार

स्ववियु निर्वाचनमा नेतृत्व हस्तान्तरण गर्नुपर्छ : महासचिव पोखरेल

blog

काठमाडौं, माघ २ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिएर नेतृत्व हस्तान्तरणमा विद्यार्थीले ध्यान दिनुपर्ने बताउनुभएको छ । सोमवार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यस्तो बताउनुभएको हो ।

हालसम्म विद्यार्थीको नेतृत्व गरिरहेका नेताहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तररण गर्नुपर्ने यहाँको भनाइ छ । वास्तविक विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीको नेतृत्व गर्नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

महासचिव पोखरेलले अनेरास्ववियुलाई अग्र्यानिक अनेरास्ववियु बनाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “मैले तपाईहरुका बीचमा सुनिरहेको सन्दर्भ के भने दोहो¥याएर फेरि स्ववियुमा जान पाइन्छ कि पाइँदैन ? एमए पास गरिसकेको मान्छे बीएमा भर्ना हुन पाइन्छ कि पाइँदैन त्यही क्याम्पसमा ? यो विषय हाम्रो बहसको विषय बन्यो भने अखिलले समाजलाई बदल्न सक्छ” उहाँले भन्नुभयो । 

महासचिव पोखरेलले सामाजिक सञ्जालले समाजलाई अराजकतातिर लैजान थालेको बताउनुभयो । सामाजिक सञ्जालले समाजलाई परिवर्तनको बाटोतर्फ लैजान नसक्ने भन्दै उहाँले यसले उदार पुँजीवाद र दलाल नोकरशाहलाई प्रवर्धन गर्ने बताउनुभयो । 

प्रतिभाशाली युवाहरुलाई स्ववियु निर्वाचनमा खडा गरेर आफ्नो क्याम्पसमा जिताएर देखाउनपर्ने भन्नुहुदै उहाँले भन्नुभयो, “अरुले तपाईको खोजि गर्छन् भने ठीक छ । नेताहरु आफैँले आफैँलाई दाबी गर्दै नगर्नुस् । अरुलाई खोज्न थाल्नुस् ।” पुस्तान्तरणको विषयले नेतृत्व निर्माणमा कुनै समस्या नहुने उहाँले बताउनुभयो ।  साँच्चैको विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीको नेतृत्व गर्नसक्ने महासचिव पोखरेलले भन्नुभयो, “अग्र्यानिक अनेरास्ववियु बनाउनुपर्छ । विद्यार्थीबीचको संगठन बनाउनुपर्छ ।”

मुलुकमा धेरै राजनीतिक दलहरु हुँदा अस्थिरता हुने भन्दै स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि पनि बलियो राजनीतिक शक्तिको खाँचो रहेको उहाँले बताउनुभयो ।