• १२ साउन २०८१, शनिबार

राजनीतिक संयन्त्रको बैठक आज, भोलि सर्वदलीय बैठक

blog

बैठकबारे जानकारी गराउनुहुँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । तस्बिर : अध्यक्ष ओलीको सचिवालय

काठमाडौं, माघ २ गते । सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज सोमबार दिउँसो ५ बजे बस्दैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली संयोजक रहनुभएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक केही बेरमा बस्न लागेको जानकारी दिनुभएको हो । 

बालकोटमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकज्युको भेटघाट सम्पन्न भएको छ । केही समयपछि आजै ५ बजे संयन्त्रको बैठक बस्दैछ । एकसरो गृहकार्य गरेर बाँकी निर्णय हुनेछन् ।” 

अहिलेको सरकारलाई विश्वासका मत दिने सबै दल र नेताहरुसँग भोलि मंगलबार सर्वदलीय बैठक आयोजना गरिएको उहाँले बताउनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “भोलिका लागि भनिएको बैठक सर्वदलीय बैठक हो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने, विश्वासको मत दिने । विचार सुन्ने र हाम्रो कुरा पनि सुनाउने छौं ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेतृत्वको अहिलेको सरकार राजनीतिक दलका नेताहरुबीच भएको सहमतिअनुरुप अघि बढ्ने उहाँले बताउनुभयो । “त्यो चाँहि, म के स्पष्ट गरौं भने, जेजस्ता राजनीतिक दलका नेताहरुबीच सहमतिमा बनेको छ, द्रुतगतिमा अघि बढ्छ” अर्थमन्त्री पौडेलले भन्नुभयो । आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बिहानदेखि दिउँसो २ः४५ सम्म छलफल चलेको थियो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।