• १२ साउन २०८१, शनिबार

किसानलाई किवीको बिरुवा वितरण

blog

किवी खेती प्रवर्धनका लागि तिरिङ्गेका किसानलाई कलमी गरेको बिरुवा वितरण गरिंदै ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका –३ तिरिङ्गेका किसानलाई किवीको बिरुवा वितरण गरिएको छ । व्यावसायिक किवी खेती विस्तारका लागि तिरिङ्गेका किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको हो ।

पाथीभरा याङ्वरक गाउँपालिकाको किवी खेती प्रवर्धन कार्यक्रममार्फत तिरिङ्गेका किसानलाई किवीको बिरुवा वितरण गरिएको छ । तिरिङ्गेका स्थानीय किसानलाई वडाध्यक्ष पूर्णबहादुर तिवारी र गाउँपालिकाका कृषि शाखा प्रमुख निकेश भट्टराईले बिरुवा वितरण गर्नुभयो । वडाध्यक्ष तिवारीका अनुसार वडावासी किसानलाई नौ सय ५० वटा बिरुवा वितरण गरिएको छ । 

किवी खेती बिस्तार गर्नमा किसानलाई सहयोग गर्ने उद्देश्यले कलमी गरिएका किवीका बिरुवा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । किवी खेती बिस्तारसँगै यसको उत्पादनबाट वडाका किसानलाई आत्मनिर्भर बनाउनमा टेवा पुग्ने विश्वास राखिएको वडाध्यक्ष तिवारीको भनाइ छ । 

यता, तिरिङ्गेमा पहिलेदेखि नै स्थानीय किसानले किवी खेती गर्दैआएका छन् । तिरिङ्गेलाई किवी खेतीका लागि अनुकूल भूगोल तथा वातावरण भएको क्षेत्र मान्ने गरिएको छ । किवी राम्ररी फस्टाउने हुँदा यसको खेतीतर्फ तिरिङ्गेका किसान पहिलेदेखि नै आकर्षित हुँदैआएका स्थानीय विजय डाँगीले जानकारी दिनुभयो । 

डाँगीका अनुसार स्थानीय किसानले हाल किवीको बजार समस्या रहेकाले बजार व्यवस्थापनका लागि समेत स्थानीय सरकारको सहयोगको अपेक्षा राख्दैआएका छन् । पछिल्लो समय जिल्लाका प्रत्येक स्थानीय तहमा किवीको खेती बिस्तारसँगै ठूलो परिमाणमा उत्पादन हुन थालेको छ । उत्पादित किवीका लागि हाल बजारको समस्या रहेको र सोचेजस्तो आम्दानी लिन नसकिरहेको किसानले बताउने गरेका छन् । बजारको व्यवस्थापन नहुँदा किवी प्रतिकेजी ८० देखि अधिकतम एक सय २५ रुपियाँसम्ममा बिक्री वितरण गर्नुपरेको किसानको दुःखेसो छ ।