• १२ मंसिर २०८१, बुधबार

सबै घरमा पुग्यो खानेपानी

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, माघ २ गते । कालीगण्डकी गाउँपालिका– ५ का सबै घरधुरी, विद्यालय तथा मन्दिरमा खानेपानीको धारा पुगेको छ । वडामा रहेका ६७२ घर तथा नौ विद्यालय, पाँच मन्दिर गरी ७८६ वटा धारा बनाइएको हो ।

यस वडामा एक लिफ्टिङसहित पाँच खानेपानी योजनामार्फत घरघरमा पानी पुर्‍याएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । दुई प्रदेश र तीनवटा पालिकाको बजेटमा कुल तीन करोड नब्बे लाख ५७ हजार रुपियाँ बजेटबाट वडाका सबै घरका धारा पुर्‍याएको थापाले बताउनुभयो । 

प्रदेशको बजेटबाट करेकुवा लिफ्टिङ खानेपानी योजनामार्फत ३२५ घरधुरीलाई एक करोड ६५ लाखको लागतमा जैपते र नयाँ मिलमा खानेपानी लगिएको हो । मुहानमा ५० हजार लिटरको ट्याङ्की निर्माण गरी २२५ मिटरको भर्टिकल हाइटमा लिफ्टिङमार्फत पानी लगेर एक लाख लिटरको ट्याङ्कीमा पानी सङ्कलन गरिएको छ । 

उक्त सङ्कलित पानीलाई अन्य २०-२० लिटरका चार ट्याङ्कीबाट घरघरमा पानी लगिएको हो । यस्तै ६९ लाख रुपियाँको लागतमा पालिकाले बनाएको भीरकुवा झिम्रिँदी खानेपानी योजनाबाट १२८ घर लाभान्वित भएका छन् ।

तीन हजार पाँच सय मिटर टाढाको मुहानबाट पानी ल्याएर तीनवटा २० हजार र एकवटा १२ हजार लिटरको ट्याङ्कीबाट टाप र जरुवाका घरबस्तीमा पानी पुर्‍याइएको छ । ४१ लाखको बेल्टारी खानेपानी योजनामार्फत बेल्टारीका ९१ घरधुरीलाई पानी पु¥याइएको छ । यहाँका लिहाक, लुङसिड, कुइनेटा खानेपानी योजनाबाट ८७ घरधुरीमा खानेपानी लागिएको हो । यो खानीपानी आयोजना निर्माणका लागि प्रदेशको एक करोड पाँच लाख रुपियाँ लागत परेको छ । 

यस्तै बास्टारी खानेपानी योजना १० लाख ५७ हजार रुपियाँमा निर्माण सम्पन्न गरी ४१ घरमा पानी पुर्‍याइएको छ । पाँच वर्ष पहिला कुवा, खोला तथा मूल खोज्दै खानेपानी खोज्न हिँड्ने स्थानीय नागरिकलाई घरघरमा पानी पुगेसँगै राहत पुगेको छ  । 

विगतका दिनहरूमा खोला खोल्साबाट खोजेर पानी खाने गरेको बताउँदै स्थानीय उपभोक्ता एवं वडाध्यक्ष रुकबहादुर थापाले सङ्घीयताको अवधारणाअन्तर्गत प्रदेश र पालिका सरकार बनेसँगै जनतालाई खानेपानीमा राहत पुगेको बताउनुभयो ।

आफू कुवा र मूलको पानी खोज्दै घण्टौँ लाइनमा बसेको स्मरण गर्दै उहाँले अहिले खानेपानीका सन्दर्भमा आफ्नो वडामा  स्वर्णिम दिन आएको बताउनुभयो ।