• १३ असोज २०८१, आइतबार

राष्ट्रिय कृषि जैविक विविधता दिवस

चाडपर्व जैविक विविधताका अभिन्न अङ्ग

blog

काठमाडौँ, पुस १ गते। माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइने भएको छ । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघेसङ्क्रान्तिको महत्त्वका आधारमा दिन छनोट गरी अबदेखि हरेक वर्ष उक्त दिवस मनाइने भएको हो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले माघेसङ्क्रान्ति समाज, संस्कृति, परम्परा, भूगोल र सबै जातजातिलाई जोड्ने तथा विविध परिकार खाने दिन भएकाले त्यसलाई दृष्टिगत गरी यस वर्षदेखि निरन्तर रूपमा माघ १ गते यो दिवस मनाउन लागिएको बताउनुभयो । 

“मुुलुकका सबै जातजातिले यो वा त्यो रूपमा मनाउने साझा सांस्कृतिक पर्व माघेसङ्क्रान्ति हो । माघेसङ्क्रान्तिका दिन नेपाली समाजले जे जस्ता कुरा उपभोग गर्छ, ती सबै कृषि जैविक विविधतासँग जोडिएका छन्,” उहाँले भन्नुभयो ।

माघेसङ्क्रान्तिमा जातीय परम्पराअनुसार नियमित खानाबाहेक खित्रो-खिच्रो-खिचडी, सेलरोटी, सखरखण्ड, तरुल, पिँडालु, फुलौरा, तिलौरा, घिउ, चाकु, माछामासु, घुँगी, अन्डालगायत परिकार बनाएर खाने परम्परा छ । 

कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, गरिब तथा सीमान्तकृत समुदायको जीविकोपार्जन एवं स्वच्छ वातावरणको मुख्य आधार भएको उल्लेख गर्दै सरकारले बजेट वक्तव्यमार्फत २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ ।

जैविक विविधतामा नेपाल धनी मानिए पनि पछिल्लो समय बासस्थान विनाश, आधुनिक खेतीका नाममा नकारात्मक अभ्यास र अन्य मानवीय गतिविधिका कारण समग्र जैविक विविधता संरक्षणमा ह्रास हुँदै आएको छ । 

रैथाने कृषि जैविक विविधता बाली, घाँसेबाली, पशुपन्छी, जलीय, कीरा र सूक्ष्म जीवाणुजन्यमध्ये करिब ४० प्रतिशत लोप भइसकेको अनुमान गरिएको छ । कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा स्थानीय समुदायको अहम् भूमिका एवं जिम्मेवारी रहिआएको छ ।

नेपाल बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक र बहुजातीय एवं भौगोलिक विविधतायुक्त मुलुक हो । संसारमा पाँच हजार पाँच सयको सङ्ख्यामा खान मिल्ने वनस्पति र बोटविरुवा रहेकाले तिनको संरक्षण हुन नसकेको खण्डमा समग्र मानव जातिकै अस्तित्व सङ्कटमा पर्न जाने विज्ञको दाबी छ । विविधायुक्त खाना खाएका खण्डमा मानिसलाई मात्र होइन, प्रकृतिको पनि हित हुनेछ । पर्यावरण संरक्षणमा पनि जैविक विविधताको ठूलो योगदान छ ।

कृषि जैविक विविधताको अभियान भान्छाबाट सुरु होस् भन्नाका खातिर खानाको विविधतालाई संस्कृतिसँग जोडेर माघेसङ्क्रान्तिलाई विविधता दिवसका रूपमा मनाउने निर्णय भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका निर्देशक रामकृष्ण श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा चाडपर्व, रीतिरिवाज र अभ्यास कृषि जैविक विविधताका अभिन्न अङ्ग हुन् । कृषि जैविक विविधता र माघेसङ्क्रान्तिबीच अन्योन्याश्रित सम्बन्ध छ ।” सरकारले राष्ट्रिय कृषि जैविक विविधता दिवस माघ १ गतेदेखि विभिन्न कार्यक्रम गरी साताव्यापी रूपमा मनाउने निर्णय  गरेको छ ।

केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वयमा औपचारिक तथा अनौपचारिक रूपमा खाद्य परिकार मेला, अन्तक्र्रिया, संरक्षणमा योगदान पु-याउनेलाई पुरस्कृत गरी मनाइनेछ । कृषि जैविक विविधताको महत्त्व, मूल प्रवाहीकरण, संरक्षणका लागि विधि र पद्धतिको विकास गर्नु दिवसको मुख्य उदेश्य हो । यसका लागि प्रचारप्रसार, सामग्री प्रकाशन र वितरण, महत्त्व उजागर, उपलब्धिबारे जानकारी तथा संरक्षणका लागि प्रेरित गर्ने चेतनामूलक कार्यक्रम गरिने केन्द्रले जनाएको छ । 

जैविक स्रोत संरक्षणका लागि वृक्षरोपण, बीउ संरक्षण, सूचीकृत तथा रैथाने परम्परागत प्रविधि र सामग्री सङ्कलन तथा प्रदर्शनसँग लक्षित कार्यक्रम छ । 

केन्द्रले रैथाने परिकार विविधीकरण र बजारीकरण, साझेदारी र सहकार्य, विद्यालय दिवा खाजा कार्यक्रममा रैथाने परिकार समावेश तथा जैविक विविधता संरक्षणमा संलग्नलाई सम्मान र पुरस्कृतका प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । रैथाने जात र स्थान विशेषको लोप हुन लागेका कृषि विविधतालाई जोगाउने काममा पनि केन्द्र समर्पित छ ।

कृषि जैविक विविधता संरक्षणका लागि किसान आयोग, सङ्घ र प्रादेशिक मन्त्रालय मातहतका कार्यालयबाट प्रवद्र्धनात्मक, प्रोत्साहनमूलक तथा विश्वविद्यालयद्वारा अध्यापन, अनुसन्धानको काम हुँदै आएको छ भने गैरसरकारी सङ्घसंस्थाबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । सरकारले स्थानीय रैथानेबाली प्रवद्र्धन तथा कृषि जैविक विविधता संरक्षणका लागि सातै प्रदेशका २७ स्थानीय तहलाई अनुदान सहयोग उपलब्ध गराएको छ ।