• १८ असार २०८१, मङ्गलबार

निगमले सञ्चय कोषलाई बुझायो ऋणको किस्ता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ,पुस १ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले पुस २९ गते कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोषबाट न्यारोबडी जहाज खरिदका निम्ति लिएको ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी गरेको जनाएको छ । 

यसअघि निगमले असार ३० गते एक अर्ब ३५ करोड र असोज ३१ गते ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको थियो ।

निगमले असोजमा बुझाएको किस्ता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकामा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ र नागरिक लगानी कोषको हकमा वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड रुपियाँ गरी जम्मा ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ रहेको थियो । 

निगमले वाइडबडी जहाज किन्न नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको थियो । १५ वर्षभित्र तिरिसक्ने गरी लिइएको यो ऋणको एक वर्षमा ब्याज मात्रै एक अर्ब २६ करोड रुपियाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै निगमले १५ वर्षकै लागि कर्मचारी सञ्चय कोषबाट पनि ११ अर्ब ९९ करोड रुपियाँ ऋण लिएको थियो । ऋण सहमतिअनुसार वाइडबडी र न्यारोबडीको ६०÷६० किस्ता तिर्नुपर्छ ।

जहाज खरिदका लागि ऋण लिँदा दुवै संस्थालाई वार्षिक चार÷चार किस्ता तिर्ने सहमतिअनुसार रकम लिएको निगमले असारभन्दा अघि २०६७ पुसमा किस्ता बुझाएको थियो ।

निगमलाई २०५४ सालदेखि ऋण लगानी गर्दै आएको नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले सरकारको जमानीमा वाइडबडी र न्यारोबडी जहाज किन्न ऋण दिएको थियो ।