• १३ असोज २०८१, आइतबार

सडक दूरी छोटिँदै

blog

प्रकाशविक्रम शाह

धनगढी, माघ १ गते । धनगढीदेखि टीकापुरसम्मको यात्रा गर्न १०१ किलोमिटर लामो दूरी छिचोल्नुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ । कैलालीको सदरमुकाम धनगढीबाट कैलालीकै पर्यटकीय क्षेत्र टीकापुर जान अहिले अत्तरिया पुगेर पूर्वपश्चिम राजमार्ग छिचोल्नुपर्छ । पूर्वपश्चिम राजमार्गको यात्रा सकिएपछि फेरि लम्की वा डुडेझारीबाट अर्को सडक हुँदै टीकापुर लाग्नुपर्छ ।

तर, अब ६७ किलोमिटरको हाराहारीमा यात्रा गरेर धनगढीबाट सिधै टीकापुर पुग्ने सकिनेछ । यद्यपि धनगढी नारायणपुर चौराहासम्म ५८ किलोमिटर जति छ । त्यहाँबाट टीकापुर पुग्न पाँच किलोमिटरको यात्रा गर्नुपर्छ । हुलाकी राजमार्ग योजना कार्यालयका प्रमुख तथा इन्जिनियर सविन जोशीले भन्नुभयो, “कान्द्रा नदीको ठेकीपुर पुल चैतसम्म निर्माण पूरा हुँदै छ त्यसपछि टीकापुर पुग्न सजिलो हुन्छ । हुलाकी सडकबाट बर्दियाको राजापुर, गुलरिया र बाँकेको नेपालगञ्ज पुग्नसमेत यात्रा दूरी छोटो हुनेछ ।”

२०६८ सालमा निर्माण सुरु भएको १०० मिटर लामो ठेकी पुल चैतमा पूरा हुने गरी द्रुत गतिमा निर्माण भइरहेको छ हुलाकी योजना कार्यालयका प्रमुख जोशीले भन्नुभयो, “विगतमा अनेकौँ कारण देखाएर ठेकेदार कम्पनीले निर्माण कार्यमा ढिलाइ गरिरहेको थियो अहिले लामो प्रयासपछि निर्माण कार्यले तीव्रता पाएको छ । सो पुल चार करोड ४२ लाख रुपियाँको लागतमा निर्माण भइरहेको छ ।” 

धनगढीबाट कर्णाली नदीसम्मका दर्जनौँ पुल निर्माण भइसकेका छन् । ठेकीपुर पुल बनेपछि हिउँद र वर्षा बाह्रै महिना सडक सञ्चालनमा आउनेछ । हुलाकी सडक एक लेनलाई स्तरोन्नति गरेर केही ठाउँमा चार लेन र धेरै ठाउँमा दुई लेनको बन्दै गरेको हुलाकी कार्यालयले जनाएको छ । 

पूर्वपश्चिम राजमार्गकै स्तरमा हुलाकी सडक बन्दै छ । धनगढीदेखि सत्तीसम्म ६२ किलोमिटर छ । त्यसमध्ये धनगढी मनेहरासम्मको साढे तीन किलोमिटरको एक लेनलाई स्तरोन्नति गरेर चार लेनमा बनाउने काम अन्तिम चरणमा पुगेको छ । यस्तै कैलारी गाउँपालिकाको कटैनीदेखि भजनी नगरपालिकाको लालबोझीसम्मको १९ किलोमिटर दुई लेनको बनिसकेको छ । अब बाँकी रहेको ४१ किलोमिटर पनि दुई लेनको बन्दै छ । धनगढीमै पनि क्याम्पस रोडदेखि भन्सारसम्म थप सात किलोमिटरको दुई लेन सडक बनिसकेको छ । 

हुलाकी सडकको निर्माण कार्य २०६७ सालमा सुरु भएको हो । तर, वसन्ता जैविक मार्गमा सडक बनाउने अनुमति पाउन ११ वर्ष लाग्नु, कोभिड हुनु, डिजाइन परिवर्तन हुनु र ठेकीपुर पुलमा ठेकेदारको लापरबाहीले गर्दा निर्माण कार्यमा ढिलाइ भएको हुलाकी आयोजनाका प्रमुख जोशीले बताउनुभयो । 

हुलाकी सडक योजनाले लम्की, टीकापुर र भारतीय सीमा क्षेत्र खक्रौलाको ३० किलोमिटर सडक पनि बनाइरहेको छ । सो सडकका मुख्य ठाउँमा पनि चार लेन र धेरै ठाउँमा दुई लेनको बनाइँदै छ । असारसम्म निर्माण पूरा हुने सो सडकको निर्माणबाट पनि टीकापुर क्षेत्रसँग लम्कीचुहा, जानकीनगर गाउँपालिकालगायतका क्षेत्र जोडिन सहयोग पुग्ने विश्वास जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी बताउनुहुन्छ । 

हुलाकी सडक निर्माणमा तीन अर्ब रुपियाँ खर्च हुने भएको छ । हुलाकी सडकले गर्दा कुनै समयका चल्तीका कैलालीको पुरानो सदरमुकाम भजनी बजार, हसुलिया मण्डी र सत्ती बजार क्षेत्रले पुनर्जीवन पाउने विश्वास भजनीका व्यवसायी सिद्धराज जैसीको छ । पूर्वपश्चिम राजमार्ग बनेपछि ती क्षेत्र सुनसान बन्दै आएका थिए ।

यसैबीच कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले हुलाकी सडकको अनुगमन निरीक्षण गरेर निर्माण कार्यलाई तीव्रता दिन हुलाकी योजना कार्यालय र ठेकेदार पक्षलाई निर्देशन दिनुभएको छ ।  

सो अवसरमा भजनी नगरपालिका–५ का वडाध्यक्ष केशव बुढाले लालबोझीमा पाँच मिटर सडकलाई कान्द्र नदीले बगाउने सम्भावना भएकाले बलिया तटबन्धन बनाउनु पर्ने माग गर्नुभएको थियो ।