• १३ असोज २०८१, आइतबार

देवघाटमा मकरसङ्क्रान्ति मेला

blog

भरतपुर समाचारदाता

चितवन, माघ १ गते । हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधामको कालीगण्डकी र त्रिशूली नदीको सङ्गम वेणीमा शनिबारदेखि विधिपूर्वक बाँसको लिङ्गो गाडेर मकरसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरीजी, हरिहर आश्रमका पीठाधीश स्वामी ज्ञानानन्दजी, महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्दजीसहित सन्तमहन्त, बटुकहरू र देवघाट क्षेत्र विकास समितिका पदाधिकारीको उपस्थितिमा लिङ्गो ठड्याइएको हो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीसहितको उपस्थितिमा गलेश्वर आश्रमबाट शोभायात्रासहित दोभानमा पुगेर लिङ्गो ठड्याइएको थियो । निर्माण एवं मर्मतका लागि दैनिक चार घण्टा बन्द गरिँदै आएको मुग्लिन–नारायणगढ सडकखण्ड देवघाटका लाग्ने माघेसङ्क्रान्ति मेलालाई दृष्टिगत गरी शनिबार र आइतबार खुला गरिएको छ ।

देवघाट क्षेत्रमा चितवन, नवलपरासी पूर्वको नवलपुर जिल्लाको सीमा क्षेत्रमा रहेको छ । मेला लाग्ने क्षेत्र मुख्य गरी तनहुँ र चितवन जिल्लामा पर्छ । यस धाममा मेला भर्न मित्रराष्ट्र भारतदेखि भक्तजन आउने गर्छन् ।