• १५ चैत २०८०, बिहिबार

छन्दपरम्पराको उत्कृष्ट कृति

blog

अन्तःसंवेदना कृति नेपाली साहित्यका बहुमुखी प्रतिभा राजेन्द्र सुवेदी (वि.सं.२००२ –२०७८)द्वारा रचना गरिएको उहाँको जीवनकालकै अन्तिम पुस्तकाकार कृति हो । कविता, निबन्ध, उपन्यास र समालोचना विधामा विशिष्ट योगदान पु-याउने विशिष्ट साधक सुवेदीले कवितातर्फ फुटकर कवितादेखि खण्डकाव्य हुँदै महाकाव्यसम्मको रचना गर्नुभएको छ । खास गरी वर्णमात्रिक छन्दमा कविता लेख्न रुचाउने कवि सुवेदीको प्रस्तुत कृति ३९ वटा कविताको सँगालो हो । नेपाली कविता विधामा सर्वाधिक प्रयोग गरिएका शार्दूलविक्रीडित, मन्दाक्रान्ता, उपजाति, शिखरिणी, भुजङ्गप्रयात, अनुष्टुपदेखि कमै मात्र प्रयोग गरिने स्वागता, रथोद्धता जस्ता ११ वटा छन्दमा प्रस्तुत सङ्ग्रहका कविता रचिएका छन् ।

‘आमाको अनुभूति–१’ देखि ‘कोभिडको करामत’सम्म गरी शास्त्रीय छन्दका यी ३९ वटा कवितामा कविले प्रकृति, समाज, राजनीति र मानवीय जीवनका तीतामिठा अनुभूतिको कलात्मक चित्रण गर्नुभएको छ । सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा देखापरेका विकृति, विसङ्गतिको चिरफार गर्दै सामाजिक सुधारको भाव कवितामा प्रस्तुत गरिएको छ । परिष्कृत र कोमल शैलीमा मानवीय भावनाको सुललित अभिव्यक्ति नै यस कृतिको कविताको खास विशेषता हो । सङ्ग्रहमा मातृत्वको महिमागान गरिएका तीनवटा कविता रहेका छन् भने ‘बाबा म के भनूँ ?’ कवितामा पिताको महिमा प्रस्तुत गरिएको छ । 

‘गणतन्त्रको सवारी’ र ‘नेताको योग्यता’ कवितामा राजनीतिक व्यवस्था र नेतृत्वमा देखिएका विकृति र कमजोरीमाथि प्रहार गरिएको छ । 

‘पञ्चमहाभूत’, ‘रत्नगर्भा’, ‘कीलालतत्त्व’, ‘रवि उष्णतत्त्व’, ‘समीरण तत्त्व’, ‘आकाश तत्त्व’ जस्ता कवितामा जीवनदायिनी प्रकृतिका विविध तŒवहरूको जीवनसँगको तादात्म्य सम्बन्धलाई कलात्मक रूपमा सुन्दर चित्रण गरिएको छ । सङ्ग्रहका ‘के गर्नु दीपावली ?’ ‘म बूढो रुख, ‘रङ फेर्ने धोको, ‘निरस जीवन’, ‘दशैँ दशा’, ‘भत्किदो पिरामिड’, ‘पशुपति स्नान’ जस्ता कवितामा मानवीय जीवनका पेरिफेरीमा आइपर्ने बाध्यता र विवशताको चित्रण गर्दै विकृति र विसङ्गतिका पहाडले किचिएको निस्सासिँदो जीवन, समाज र सांस्कृतिक विचलनका साथै ह्रासोन्मुख मानवीय मूल्यको प्रतीकात्मक अभिव्यक्ति पाइन्छ । 

त्यस्तै सङ्ग्रहका ‘स्मृति मेरो बाल्य जीवनको’, ‘मेरो युवा अवस्था चोइटिएको ठाउँ’, ‘मेरो कैशोर बितेको ठाउँ’, ‘मेरो युवावय बितेको ठाउँ’, जस्ता चारवटा कवितामा कविका किशोर अवस्थाका सुखद र सङ्घर्षपूर्ण भोगाइका विविध आयामको कलात्मक अभिव्यक्ति पाइन्छ भने कतै कतै भावको पुनरावृत्तिसमेत देख्न पाइन्छ । 

अक्षरकै साधनामा समर्पित स्रष्टा सुवेदीले यहाँ नेपाली छन्दकविताका शिखर पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरे र आधुनिक आशुकविका रूपमा परिचित रमेश खकुरेलका बहुआयामिक व्यक्तित्व र साधनालाई विषय बनाई उहाँहरूप्रति विशेष श्रद्धाभाव राखी दुईवटा कविता रचना गर्नुभएको छ । यसैगरी ‘नयाँ वर्ष’, 

‘मान्छे’, ‘अहिंसा व्रती’, ‘मित्रता’ जस्ता कवितामा मानवीय प्रवृत्तिमाथि नै चोटिलो व्यङ्ग्य प्रहार गरिएको छ । कोभिडको महामारीले विश्व नै आक्रान्त बन्न पुगेको दुःखद अवस्थालाई ‘कोभिडको करामत’ कवितामा प्रस्तुत गरिएको छ । 

निष्कर्षमा प्रस्तुत अन्तःसंवेदना कविता कृति नेपाली साहित्यका विशिष्ट साधक कवि राजेन्द्र सुवेदीको जीवनका उत्तराद्र्धमा रचना गरिएको र साधनाको परिपक्वताबाट सिर्जित सुन्दर कविताकृति हो ।

कविताबाटै साहित्यिक यात्राको थालनी गरेका भए पनि समालोचकका रूपमा र निबन्धकारका रूपमा परिचित सुवेदी पछिल्लो कालखण्डमा आत्मनिर्वाण महाकाव्यबाट सशक्त कवि मात्र नभएर सशक्त महाकाव्यकारका रूपमा समेत देखापर्नु भयो ।

साहित्यकार ज्ञानेन्द्र गदालको सौजन्यमा प्रकाशित प्रस्तुत ‘अन्तःसंवेदना’ कृति नेपाली छन्दकविताका पारखीहरूका लागि एक पठनीय र सङ्ग्रहणीय कृतिका रूपमा रहेको छ । नेपाली छन्दकविता परम्परामा प्रस्तुत कृति एक उल्लेख्य कृतिका रूपमा रहने छ भन्ने विश्वास लिन सकिन्छ । यस कृतिको मूल्य भने २५०÷– रुपियाँ तोकिएको छ । 

Author

हेमराज अधिकारी