• २६ वैशाख २०८१, बुधबार

आस्मानको क्राइम थ्रिलर कुत्ते

blog

सुकृत नेपाल 

काठमाडौँ, पुस ३० गते । बलिउडमा ‘ओमकारा’, ‘मकबुल’ र ‘हैदर’ जस्तो चर्चित चलचित्रलाई निर्देशन गरेका निर्देशक विशाल भारद्वाजले अब आफ्नो छोरालाई पनि जमाउने जमर्को गरेका छन् । बलिउडमा नवप्रवेशी यी निर्देशकको नाम हो, आस्मान भारद्वाज । आस्मानले पहिलो पटक बलिउडमा आफ्नो निर्देशकीय क्षमता देखाउने मौका पाएका छन् । चलचित्र ‘कुत्ते’ उनको निर्देशनमा यस वर्ष सिनेमाघरमा आउने पहिलो ठूलो ब्यानरको चलचित्र हो । 

चलचित्रको कथा सन् २००३ बाट सुरु हुन्छ, जहाँ नक्सलवादी लक्ष्मी (कोनकोना सेन शर्मा)लाई प्रहरीले समातेको हुन्छ । लक्ष्मीको नक्सलवादी समूह आएर उनलाई प्रहरीको फन्दाबाट बचाउने काम पनि गर्छन् । त्यसपछि चलचित्रको कथा फेरि १३ वर्षअगाडि धकेलिन्छ । चलचित्रको अन्य पात्रहरू प्रहरी अधिकारी गोपाल (अर्जुन कपुर) र पाजी (कुमुद मिश्र) प्रहरी विभागमा रहेर पनि लागूऔषध कारोबारमा संलग्न हुन्छन् । 

त्यस्तै अभिनेत्री तब्बु पनि प्रहरीको भूमिकामा हुन्छिन् । चलचित्रमा उनको भूमिका नपत्याउँदै खालको छ । दर्शक अवश्य पनि उनको भूमिकाबाट अचम्मित हुन्छन् । निर्देशक तथा कलाकार अनुराग कश्यप राजनीतिज्ञ हुन्छन्, जो एकदमै ‘भ्रष्ट’ छन् । उनी जे कुरामा पनि कमिसन मात्र खोज्ने काम गर्छन् । उनलाई केही कुरा पनि डर र त्रास हुँदैन । त्यस्तै शार्दुल भारद्वाज र राधिका मदन प्रेमी–प्रेमिकाको भूमिकामा देखिएका छन् । चलचित्रमा दुवैको प्रेमलाई अद्भुत देखाइएको छ । पाका अभिनेता नसिरुद्दीन शाहले गैरकानुनी रूपमा हतियारको कारोबार गर्ने ग्याङ्स्टरको भूमिका गरेका छन् । विशेष गरेर चलचित्रको कथा करोडौँको पैसामा टिकेको छ, जहाँ त्यो पैसा एउटा गाडीमा फसेको हुन्छ र सबै त्यही गाडीको खोजीमा लागिपरेका हुन्छन् । त्यही पैसाले नै सबैलाई यताउता घुमाइरहेको हुन्छ । चलचित्र गाडीभित्र भएको पैसा कसको पोल्टामा पर्छ भन्ने विषयमा नै केन्द्रित छ । 

निर्देशक आस्मानको यो पहिलो चलचित्र भए पनि चलचित्रमा उनको निर्देशकीय पक्ष राम्रो छ । उनले आफ्नो बुवाको नामलाई धान्ने काम गरेका छन् । विशाल भारद्वाजको सङ्गीत र गुलजारको मिठास भरिएको लेखनले चलचित्रलाई झन् माथि उठाउने काम गरेको छ । आपराधिक घटना समेटिएको चलचित्रको क्लाइमेक्स उत्कृष्ट छ । दर्शकले अहिले थ्रिलर विधाका चलचित्र बढी मन पराउने हुनाले पनि चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सक्छ भन्नु गलत हुनेछैन । 

चलचित्रमा कलाकारहरूको अभिनयलाई हेर्ने हो भने अभिनेत्री तब्बुले आफ्नो भूमिका निकै राम्रोसँग निर्वाह गरेकी छिन्, उनलाई प्रहरीको भूमिका धेरै नै सुहाएको छ । अर्जुन कपुरले पनि राम्रो काम गरेका छन् । नसिरुद्दीन शाहको चरित्र सानो भए पनि उनले आफ्नो चरित्रलाई सही ढङ्गले प्रस्तुत गरेका छन् । त्यस्तै राधिका मदनले पनि आफ्नो चरित्रमा न्याय गरेकी छिन् । समग्रमा भन्नुपर्दा अभिनयको हिसाबले सबै कलाकारको काम उत्कृष्ट छ । 

चलचित्रको कथा दर्शकले रुचाउने खालको छ । अपराध, भ्रष्टाचार, र नक्सलवादजस्ता गम्भीर विषयलाई निर्देशक आस्मानले बिल्कुलै फरक तरिकाबाट उठान गरेका छन् । चलचित्र ‘कुत्ते’पछि धेरै दर्शकलाई उनको अर्को निर्देशनमा बनेको चलचित्रको अवश्य नै प्रतीक्षा रहनेछ ।