• १२ मंसिर २०८१, बुधबार

एकीकृत जाँच चौकीमा आउन थाल्यो डस्टी कार्गो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३० गते । वीरगञ्ज एकीकृत जाँच चौकी (आईसीपी)मा डस्टी कार्गाे आउन थालेको छ ।पुस २४ गतेदेखि आईसीपीमा डस्टी कार्गाे (मल, कोइला, क्लिङ्कर, जिम्पस आदि) भित्रिन सुरु गरेको हो । यसअघि भारतको रक्सौलसम्म रेलमा ल्याएको सामान त्यहाँबाट ट्रकमा हालेर आईसीपीसम्म ल्याउने गरिएकामा अब सिधै रेलबाट आईसीपीसम्म ल्याउन थालिएको हो । यसले गर्दा छिटो र लागतसमेत कम लाग्ने अनुमान गरिएको छ । 

वीरगञ्ज एकीकृत जाँच चौकीका प्रमुख कमल ज्ञवालीले भारतको रक्सौलदेखि सिधै आईसीपीसम्म डस्टी कार्गाे आउन सुरु गरेको जानकारी दिनुभयो । गत आइतबारदेखि कोइला, मललगायतका सामान (डस्टी कार्गाे) आउन सुरु गरेको उहाँले बताउनुभयो । यसले आईसीपी पूर्ण रूपमा प्रयोगमा आई व्यवस्थित हुने उहाँले बताउनुभयो । 

गत आइतबारदेखि शुक्रबारसम्म आईसीपीसम्म रेलमा ल्याएको र त्यहाँबाट कोइला बोकेका १७६ गाडी र मल बोकेका १४१ गाडी बाहिरिएको उहाँले जानकारी दिनुभयो ।

 भारतको रक्सौलदेखि नेपालको पुरानो भन्सार हुुँदै नेपाल भित्रिने डस्टी कार्गाेका लागि वीरगञ्ज सुक्खा बन्दरगाहभित्र टे«नको ट्र्याक स्थानान्तरण गरी सो कार्गाे हेन्डलिङका लागि संरचना तयार भएको कार्यालयले जनाएको छ । 

नेपाल आउने डस्टी कार्गाे रक्सौलमा हेन्डलिङ भएर नेपाल आउने गरेकामा अब रेलबाट सिधै वीरगञ्ज सुक्खा बन्दरगाहमा आएर हेन्डलिङ हुने भएकोे कार्यालयले जनाएको छ ।

यसका लागि टे«नको ट्र्याक स्थानान्तरण गरिएको कार्यालयले जनाएको छ । हालसम्म डस्टी कार्गाे भारतको रक्सौलमा हेन्डलिङ भई ट्रकमार्फत आउने नेपाल आउने गरेको थियो । यसबाट नेपालमा रोजगारी बढ्नुका साथै व्यवसायीलाई लागत कम पर्ने कार्यालयले जनाएको छ । भारतसँगै अन्य देशबाट डस्टी कार्गाे आउने गरेको छ । 

वीरगञ्ज महानगरपालिकाबाट सहमति लिई व्यवसायीलाई समेत जानकारी गराएको कार्यालयले जनाएको छ । खरानी, कोइला, मल, क्लिङ्कर, जिप्सन, नुन, फलामलगायतका सामान डस्टी कार्गाेका रूपमा आउने गरेको छ । भारतबाट सिधै रेलमा आएको सामान आईसीपीमा झारेर ट्रकबाट अन्य ठाउँमा पठाइनेछ ।

आईसीपीभित्र सानो ठाउँ भएकाले सबै प्रकारका सामान एकै ठाउँमा राख्न उपयुक्त नहुने बताइएको छ । कार्गाेमार्फत भारतलगायत तेस्रो मुलुकबाट विभिन्न प्रकारका सामान नेपालमा भित्रिने गरेको छ ।