• १२ मंसिर २०८१, बुधबार

मौरीबाट वार्षिक आठ लाख कमाइ

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस ३० गते । पछिल्ला केही वर्षदेखि निकै चर्चित बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । यस वर्ष तोरीबारीमा फोटो खिच्ने र टिकटक बनाउनेको भीड भने छैन । 

यस पटक त्यहाँ बेनी नगरपालिका–४, सुर्केमेलाका दिलबहादुर खत्रीले २५ घार मौरी चराउँदै हुनुहुन्छ । सुर्केमेलाका व्यावसायिक मौरीपालक कृषक ४२ वर्षीय खत्रीले मौरीको घार ल्याएर तोरीको फाँटमा राख्नुभएको छ । 

खत्री २१ वर्षको उमेरमा संयुक्त अरब इमिरेट्सको दुबईमा दुई वर्ष र त्यसपछि मलेसिया जानुभयो । मलेसिया तीन वर्ष बसेर फर्केपछि सुर्केमेलामा सुन्तला खेती थाल्नुभएका केसीले बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषितर्फ लाग्नुभएको हो । उहाँले हाल मौरीपालन तथा बिक्री गर्नुका साथै कागती एवं सुन्तला जातका फलफूल उत्पादन गर्ने गर्नुहुन्छ ।

मौरीपालनबाट केसीले वार्षिक सरदर १० लाख रुपियाँको कारोबार गर्दै आउनुभएको छ । उहाँले वार्षिक एक सयभन्दा बढी 

मौरीसहितका घार बिक्री गर्दै आउनुभएको छ । गत वर्ष मौरीसहितको घारबाट मात्रै आठ लाख रुपियाँ कमाएको उहाँले बताउनुभयो । यस वर्ष चरन क्षेत्रमा राखेको ७९ घार मौरीले २५० केजी मह उत्पादन गर्ने अपेक्षा लिएको उहाँले बताउनुभयो । रत्नेचौरमा २५ घार र बागलुङ नगरपालिकाको कुँडुलेमा ४५ घार मौरी चरनमा राखिएका छन् । प्रत्येक घारमा सरदर तीनदेखि चार केजीसम्म मह उत्पादन हुन्छ । ताजा मह प्रतिकेजी एक हजार रुपियाँदेखि एक हजार तीन सय रुपियाँमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

वार्षिक रूपमा दुई सय घार मौरी बेच्ने लक्ष्य राख्नुभएका काम गर्ने केसीले, गोला घार (मौरीसहितको घार), खाली घार, खाली घार भएका कृषकका लागि मौरी मात्रै पनि बिक्री गर्दै आउनुभएको छ ।

कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहितको घारको १० हजार, मौरी मात्रै पाँच हजार, खाली घार मात्रै तीन हजार पाँच सय रुपियाँमा बिक्री हुन्छ । त्यस्तै खाली घार लिएर आएकालाई चार फ्रेम मौरी हाल्दिएको पाँच हजार पाँच सय रुपियाँ लिने गरेको उहाँले बताउनुभयो । 

कृषि ज्ञान केन्द्रले केही वर्षअघि सानो मोडेल फार्मअन्तर्गत अनुदान प्रदान गरेपछि भने उहाँलाई त्यसले ठूलो मात्रामा व्यावसायिक तवरले अगाडि बढ्न सजिलो भएको अनुभव छ । रत्नेचौरको फाँट पाँच सय मुरी धान फल्ने क्षेत्र हो र त्यसमध्ये चार सय मुरी धान फल्ने क्षेत्रमा तोरी लगाइएको छ भने एक सय मुरी धान फल्ने क्षेत्रमा गहुँ लगाइएको छ ।