• २६ वैशाख २०८१, बुधबार

विदेशी दबदबा रोक्न नेपाली चलचित्र सुधार गरौँ : सचिव डा. अर्याल

blog

निर्माताको बृहत् भेला तथा छलफलमा सम्मान प्रदान गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्याल साथमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी ।

काठमाडौं, पुस २९ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले नेपाली चलचित्र किन चल्न सकेनन् भन्नेबारे गहन अध्ययन हुनुपर्ने बताउनुभएको छ। 

शुक्रबार काठमाडौँमा भएको चलचित्र निर्माताको बृहत् भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। सचिव अर्यालले दर्शकका चाहना पूरा गर्न नेपाली फिल्म किन असक्षम भइरहेका छन् भन्ने बारेमा गम्भीर छलफल र समीक्षा गर्न चलचित्रकर्मीलाई आग्रह गर्नुभयो। 

उहाँले चलचित्र प्रदर्शनी गर्दा पनि कसरी चलचित्र चलाउन सकिन्छ ? कसरी दर्शकको मन जित्न सकिन्छ भन्नेकुराको विचार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले विदेशी फिल्मको दबदबा रोक्नुपर्छ भन्दै गर्दा दर्शकले रुचाउने र चाहने कुराको परिपूर्ति गर्न नेपाली फिल्म किन असक्षम छन् भन्ने बारेमा चलचित्रकर्मीले पहिलो ध्यान दिनु आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाली चलचित्रलाई अघि बढाउन बजार विस्तारको आवश्यक रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘हामीले चलचित्र बजारलाई राम्रोसँग अध्ययन गरेनौँ कि ? दर्शकका चाहना, दर्शकको रुचि त्यसलाई राम्रोसँग हेर्न सकेनौँ, कथावस्तुको चयन राम्रोसँग भएन कि यसमा अलि विस्तृत अध्ययन गरेर हामी कहाँ चुक्यौँ भन्नेबारे छलफल गर्नुपर्छ। चलचित्र आउँदा कसरी चल्छ, कसरी दर्शकको मन जित्छ भन्नेकुरा हामीले विचार गर्नुपर्छ। विदेशी फिल्मको दबदबा रोक्नुपर्छ भन्नुहुन्छ। तर दर्शकले के चाहनुहुन्छ, त्यो नै हुने अवस्था हो। अब हामीले बजार खोज्ने सन्दर्भमा बजार कहाँ छ, रुचि के हो ? भन्नेकुरामा अध्ययन अनुसन्धान गरौँ। बजार विस्तार गरेर अघि बढ्नुपर्छ।’

सचिव अर्यालले चलचित्र क्षेत्रका समस्या पहिचान गरेर मन्त्रालयमा समस्या लिएर आए मन्त्रालयले आवश्यक काम कारबाही अघि बढाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ।