• १२ मंसिर २०८१, बुधबार

नवनियुक्त मुख्यमन्त्री गिरीद्वारा पदभार ग्रहण

blog

पद तथा गोपनीयताको शपथ ग्रहणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी पदभार ग्रहण गर्नुहुँदै लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरी । तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
देउखुरी, पुस २८ गते ।
 लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीबार पदभार ग्रहण गर्नुभएको छ । बुधबार लुम्बिनीको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री गिरीलाई शपथ ग्रहण गराउनुभएको छ ।

पद तथा गोपनीयताको शपथ ग्रहणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री गिरीले स्थायी राजधानीलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । राजधानीका लागि चाहिने भौतिक पूर्वाधार निमार्णको कार्यलाई तीव्र रूपमा अघि बढाउने उहाँको भनाइ थियो ।

नवनियुक्त मुख्यमन्त्री लीला गिरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुँदै प्रदेश प्रमुख अमिक शेरचन

मुख्यमन्त्री गिरीले आजै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा दुईजना बिना विभागीय मन्त्रीसहित तीन सदस्यीय मन्त्रीमण्डल गठन भएको हो । दुईजना मन्त्रीको पछि टुङ्गो लगाइनेछ ।

नवनियुक्त मन्त्रीमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट बाँके जिल्लाबाट निर्वाचित प्रदेश सभासद् कृष्णा केसी र नेकपा (एमाले)बाट अर्घाखाँची जिल्लाबाट निर्वाचित प्रदेश सभासद् चेतनारायण आचार्य हुनुहुन्छ । नवनियुक्त मन्त्रीद्वय केसी र आचार्यलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।