• ३० फागुन २०८१, शुक्रबार

सामुदायिक वनमा मनलागी फँडानी

blog

तालकोट रानीपोखरी सामुदायिक वनमा काटिएका रुख ।

चित्र मिजार 

सिन्धुपाल्चोक, पुस २८ गते । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगचोकगढी नगरपालिका–९ स्थित तालकोट रानीपोखरी सामुदायिक वनमा मनलाग्दी फँडानी गरिएको छ । स्थानीय सिंहदेवी आधारभूत विद्यालयका अध्यक्ष हुमबहादुर मगर र प्रधानाध्यापक केदारनाथ नेपालको आदेशमा सामुदायिक वनको दर्जनौँ साल र चिलाउने जातका रुख फँडानी गरिएको हो । 

उक्त सामुदायिक वन समितिलाई जानकारी नै नदिई रुख काटेर बेच्न लागेपछि स्थानीयवासीले वन समितिका अध्यक्ष रामशरण गिरीलाई जानकारी गराएका थिए तर गिरीले उक्त विषयलाई महìव नै नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । यसबारे गिरीलाई पटक–पटक फोन सम्पर्क गर्दा उठाउनु भएन ।

रुखहरू काट्न लगाउँदा मजदुरलाई ज्यालाबापत विद्यालयले नौ हजार रुपियाँ दिने निर्णय गरेको छ । चौतारा सब–डिभिजन कार्यालयका सहायक वन अधिकृत श्रद्धा सिग्देलले सामुदायिक वनको रुख काटिएको विषयमा अनुगमन  र छानबिन भइरहेको जानकारी दिनुभयो । 

विद्यालयका अध्यक्ष हुमबहादुर मगरले रुखहरू निजी जग्गाको काटिएको बताउनुभयो तर स्थानीयले रुख काटिएको उक्त जग्गा निजी नभएर सामुदायिक वन क्षेत्रको चार किल्लाभित्र पर्ने दाबी गरेका छन् । विद्यालयले यस विषयलाई मिलाउन वन कार्यालयसँग लागिरहेको छ । 

स्थानीयवासीले सत्यतथ्य सार्वजनिक गर्न वन कार्यालयलाई आग्रह गरेका छन् । वन क्षेत्रमा रहेका रुख काटिएपछि अप्ठ्यारो पर्ने अवस्था आएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले अघिल्लो बैठकको निर्णयमा किर्ते निर्णय थपेको बताइएको छ ।