बुटवल समाचारदाता
बुटवल, पुस २८ गते । पृथ्वी जयन्तीका अवसरमा बुटवलमा पृथ्वीनारायण शाहको सालिक निर्माण गरिने भएको छ । बुटवल उपमहानगरपालिका–१० स्थित कालिका नगरमा पृथ्वीनारायण मार्गअगाडि पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक निर्माण गर्न शिलान्यास गरिएको हो ।
स्थानीय जनताका सहयोगमा निर्माण हुने सालिकको बुटवलका समाजसेवी रूपसिंह थापाले शिलान्यास गर्नुभयो । बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष बलु पुनमगरले राष्ट्रनिर्माताको स्मृतिमा पूर्ण कदको सालिक बनाउने उद्देश्यले शिलान्यास गरिएको बताउनुभयो ।
यसबाट नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको कदर हुने उहाँको भनाइ छ । समाजसेवी रूपसिंह थापाले पृथ्वीनारायण शाहको योगदान जति नै प्रशंसा गरिए पनि कम हुने बताउँदै पृथ्वीनारायण शाहले गरेको एकीकरणका कारण हामीले नेपालीका रूपमा गर्व गर्ने अवसर पाएको बताउनुभयो ।
त्यसैगरी पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा बुटवलमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विश्व हिन्दु महासङ्घ रुपन्देहीद्वारा आयोजित सो कार्यक्रममा वरिष्ठ संस्कृतिविद् एवं नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले हिन्दुत्वको रक्षा, राष्ट्रिय एकता र सद्भाव आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले बाइसे चौबिसे राज्यका नाममा टुक्राटुक्रामा विभाजित राज्य एकीकरण गरेर सिङ्गो नेपाल निर्माण गर्ने, घुस खाने र भ्रष्टाचार गर्नेलाई कडा दण्डित गर्ने, नेपाललाई चार जात ३६ वर्णको साझा फूलबारी बनाउने, सामाजिक विभेद अन्त्य गरी सार्वभौम राष्ट्र स्थापना गर्ने पृथ्वीनारायण शाहको उचित सम्मान आवश्यक रहेको धारणासमेत राख्नुभएको थियो ।