• १२ मंसिर २०८१, बुधबार

इन्टरनेट फोनको पहुँच बढाइँदै

blog

चितवन समाचारदाता

चितवन, पुस २७ गते । नेपाल टेलिकम भरतपुर कार्यालयले पुरानो प्रविधि र तारबाट वितरण हुँदै आएको ल्यान्डलाइन फोनलाई पूर्णरूपले हटाउने तयारी गरेको छ । पछिल्लो प्रविधिको प्रयोगका कारण पुरानो तामाको तारबाट सञ्चालन हुँदै आएका ल्यान्डलाइन फोनमा समस्या धेरै आउने र मर्मत गर्नको लागि समेत सामानको अभाव हुन थालेपछि फाइबर नेटबाट सञ्चालन हुने टेलिफोनलाई प्राथमिकता दिन थालिएको हो । 

टेलिकमको सुरुवातको समयबाट सञ्चालनमा आएका ल्यान्डलाइन फोन अहिले आठ सयको सङ्ख्यामा छन् । “१२ हजार पाँच सयको सङ्ख्यामा रहेका यस प्रकारका फोन हटाएर आठ सयमा झारेका छौँ,” नेपाल टेलिकम भरतपुरका कार्यालय प्रमुख नवीनकुमार मिश्रले भन्नुभयो । अब हामीले आउँदो माघ २२ गते हुने नेपाल टेलिकमको वार्षिक उत्सवको अवसर पारेर जिल्लामा सबै ल्यान्डलाइन फोन (पुरानो प्रविधिको) हटाएर फाइबर नेटबाट सञ्चालन हुने फोनको व्यवस्था गरिनेछ । अहिले पनि भरतपुर र यस आसपासमा नेटफोनको प्रयोग वृद्धि भएको जानकारी दिँदै फाइबर नेटबाट टेलिफोन चलाउनेहरू १५ हजारको सङ्ख्यामा रहेको प्रमुख मिश्रले बताउनुभयो । 

फाइबर नेट जडान गरेपछि इन्टरनेट, टेलिभिजन, टेलिफोन र प्रयोगकर्ताको मोबाइलमा हरेक दिन तीन सय एमबीको डाटा प्याकको सुविधा पाइने भएकाले यसैमा उपभोक्ताको रुचि वृद्धि भएको छ ।  एउटै माध्यमबाट चार सुविधा भएपछि यसको प्रयोग वृद्धि भएको कार्यालयले जानकारी दिएको छ ।

एडीएसएलबाट नेटको प्रयोग घट्दो क्रममा रहेको कार्यालयले जनाएको छ । फाइबर नेटमा स्पिड धैरै हुने, राम्रोसँग नेट सञ्चालन हुनेगर्दछ । पुरानो प्रविधिको तारबाट इन्टरनेट सुस्त हुने भएकाले ग्राहक पनि फाइबर नेटतर्फ आकर्षित भएको कार्यालयले जानकारी दिएको छ । 

प्रविधिमा आएको विकासले गर्दा पनि टेलिकमले नयाँ प्रयोग गर्दै आएको छ । जिल्लाको भरतपुर, नारायणगढ, रत्ननगर, भण्डारालगायतका क्षेत्रमा फाइबर नेटको सुविधा छ । चितवनका सातवटा पालिकामध्ये पाँचवटा पालिकामा फाइबर नेटको सु्विधा पुगेको कार्यालय प्रमुख मिश्रले जानकारी दिनुभयो ।

माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने फाइबर नेटको सुविधा अहिले नपुगे पनि त्यस क्षेत्रमा लैजाने योजना रहेको कार्यालयले जानकारी दिएको  छ । नेपाल टेलिकमले पछिल्लो समय पुरानो ल्यान्डलाइन फोन हटाएर फाइबर नेटको फोन जडान गर्न लगाएपछि यसमा समस्या आउन थालेको उपभोक्ताहरूले गुनासो गर्न थालेका छन् ।

लोडसेडिङ भएको समयमा फोन नचल्ने, अन्य समयमा पनि समस्या आइरहने, डायल टोन नआउने, बोल्दा बोल्दै काटिनेलगायतको समस्या आउने गरेको उपभोक्ताको गुनासो रहेको छ ।