• १३ पुस २०८२, आइतबार

उद्योगपति केसीको सालिक स्थापना

blog

पोखरा समाचारदाता

पोखरा, पुस १२ गते । पोखरा महानगरपालिकाको काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति, शिक्षासेवी स्व. सूर्यबहादुर केसीको सालिक शनिबार अनावरण गरिएको छ । स्व. केसी परिवारद्वारा निर्माण गरिएको अर्धकदको सालिक क्याम्पसको हाताभित्र रहेको छ ।  

क्याम्पसको ३४ औँ वार्षिकोत्सवका अवसरमा भवन उद्घाटन, पुरस्कार वितरण कार्यक्रम एवं स्व. केसीको सालिक अनावरण गरिएको हो । सो सालिकको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा महानन्द चालिसे, सूर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका संरक्षक, सञ्चालक समितिका पूर्वअध्यक्ष स्व. केसीकी धर्मपत्नी प्रेमकुमारी केसी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष केसीका छोरा किरण केसी, छोराहरू प्रकाश केसी र रोशन केसी, क्याम्पस प्रमुख सहप्राध्यापक बिरन्जी गौतमले संयुक्त रूपमा अनावरण गर्नुभयो ।

क्याम्पस स्थापनाकालदेखि नै शैक्षिक उन्नयन तथा भौतिक निर्माणमा पु¥याएको योगदानको उच्च कदर गर्दै उहाँको चिरकाल स्मरणका लागि क्याम्पसपरिसरमा केसीको सालिक स्थापना गरिएको क्याम्पस प्रमुख सहप्राध्यापक गौतमले बताउनुभयो ।  

दक्षिण एसियामा चाउचाउ उत्पादन सुरु गरेको श्रेय प्रतिष्ठित उद्योगी स्व. केसीलाई जाने गरेको छ । हिमश्री फुड्स प्रालि स्थापना गरेर उहाँले दक्षिण एसियामै पहिलो पटक पोखरामा रारा चाउचाउ उत्पादन सुरु गर्नुभएको थियो । निर्माण व्यवसायबाट व्यावसायिक जीवनमा हात हाल्नुभएका केसीले बैङ्किङ क्षेत्र, जलविद्युत्, खाद्य उत्पादन क्षेत्रमा लगानी गर्नुभएको थियो । २०१४ साल जेठ १० गते पोखरामा जन्मिएका केसी व्यापार व्यवसाय र निर्माणका क्षेत्रमा संलग्न हुँदै २०४१ देखि २०४६ सालसम्म तत्कालीन पोखरा पञ्चायतको प्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो । 

पहिलो संविधान सभाको निर्वाचनमा उहाँ राप्रपाबाट समानुपातिक सांसद बन्नुभएको थियो । यसैबिच सोही अवसरमा स्व. कीर्तिबहादुर केसीको स्मृतिमा संस्थापक सञ्चालक समितिका अध्यक्ष स्व. सूर्यबहादुर केसीका परिवारबाट स्थापित सूर्यप्रेम ट्रस्टको आर्थिक सहयोगमा निर्माण गरिएको कीर्ति पुस्तकालय भवनको पनि उद्घाटन गरियो । सो अवसरमा उक्त भवन केसी परिवारले त्रिभुवन विश्वविद्यालयका डिन प्राडा चालिसेलाई र चालिसेले क्याम्पस प्रमुख गौतमलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त बहुउद्देश्यीय भवन निर्माणमा तीन करोड २६ लाख २८ हजार ५२० रुपियाँ लागत लागेको जानकारी ट्रस्टका सदस्य प्रकाश केसीले जानकारी दिनुभयो ।