• २१ वैशाख २०८१, शुक्रबार

चर्चामा लोकदोहोरी गायक लामिछाने

blog

बुटवल समाचारदाता

बुटवल, पुस २७ गते । पछिल्लो पुस्तामा नेपाली गीतसङ्गीत क्षेत्रका बहुचर्चित एवं सबैको मनमा बस्न सफल लोकदोहोरी गायक सरोज लामिछानेका गीत लोकप्रिय बन्दै गएका छन् । 

सिन्धुपाल्चोकमा जन्मिएका गायक लामिछाने उत्तममणि र सावित्राका कान्छा छोरा हुनुहुन्छ । आफ्ना अब्बल सिर्जना र स्वरबाट नेपाली गीतसङ्गीतमा व्यावसायिक रूपमा सफल लामिछाने नेपाली आमदर्शकको रोजाइमा पर्नुभएको छ । यसै कारण साङ्गीतिक स्टेज सोहरूमा उहाँलाई रुचाइएको छ । 

साङ्गीतिक बजारमा नेपाली लोकगीतले छुट्टै स्थान हासिल गरिसकेको छ । उहाँले पछिल्लो समय चन्द्रागिरिमा गीत सार्वजनिक गर्नुभएको छ । सो गीतको शब्द र सङ्गीत लामिछानकै हो भने आरके मिलनले यसको एरेन्ज गर्नुभएको छ ।

दर्शकले यो गीत सरोज लामिछाने नामक युट्युब च्यानलबाट हेर्न सक्नेछन् । 

यो गीत सरोज लामिछाने र मनकामना रोक्काको स्वरमा सजिएको छ । अमृत विश्वकर्माले नृत्य निर्देशन गर्नुभएको यस गीतमा प्रतिभा चाम्लिङको कोरियोग्राफी रहेको छ । गीतमा उनै प्रतिभा चाम्लिङ र शेखर रानाको जोडदार नृत्य छ ।

लामिछानेका यसअघिका चर्चित गीत ‘बदम खाको सुन्तला छोडाको’, ‘सालको पात हे माया’, ‘हे मेरो सानु’, ‘कोठा भाडा तिर्दिने मैले हो’, ‘मुसौरी’, ‘सान्दाजु’, ‘माछी कहाँ छ’, ‘दुई खोली दोभान’, ‘धानको बाला लसरी पसरी’, ‘मेरो माया मुरीका मुरी’, ‘जिन्दगी के छ र’, ‘बूढीकन्या’ आदि हुन् । 

यसैगरी दर्शक तथा श्रोताको माया पाएका लामिछानेका दुई सयभन्दा बढी गीत बजारमा आइसकेका छन् । उहाँ गायक मात्रै नभएर सञ्चारकर्मी पनि हुनुहुन्छ । उहाँले लामो समयदेखि रेडियो सिटी एफएममा ‘स्वरका थुङ्गाहरू’ कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।