• १२ मंसिर २०८१, बुधबार

सुत्केरीलाई घरमै कोसेली

blog

भैरहवा समाचारदाता

भैरहवा, पुस २७ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरी आमालाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहियास्थित घरघरमा पुगेर सुत्केरीसँग कोसेली भेट गर्नुभएको छ । कोसेली झोलासहित घरघरमा पुगेर आमालाई कोसेली दिँदै उपप्रमुख अधिकारीले सुत्केरी भएको अवस्थामा उनीहरूको स्वास्थ्यका साथै नगरवासीको मुहारमा खुसी ल्याउनका लागि कोसेली भेट गरेको बताउनुभयो । 

नगरपालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा ज्वानो, घिउ, मह, सर्फ, डिटोल साबुन, जोनसन साबुन, जोनसन तेल, सेनेनटरी प्याड, झुल र मेक्सी रहेको छ । करिब तीन हजार रुपियाँ मूल्य बराबरको कोसेली एक सय दिनभित्रका सुत्केरी आमालाई उपलब्ध गराउन सुरु गरिएको हो ।

नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, विवाह दर्ताको प्रमाण, न्यूनतम चार पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमाणपत्र, जन्मदर्ताको प्रमाण, बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने नगरपालिकाले प्रावधान बनाएको छ ।

“यसले समयमै जन्मदर्ता गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने बानीको समेत विकास गर्नेछ,” उपप्रमुख अधिकारीले भन्नुभयो । सुत्केरी अवस्थामा के खाने ? कति दिन आराम गर्ने ? कस्ता खानेकुरा खाएमा शरीरलाई फाइदा गर्छ ? जस्ता सन्देश लेखिएको पम्प्लेटसमेत कोसेली भेटमा उपलब्ध गराइएको छ । “यसले आमा र बच्चाको मृत्युदरलाई घटाउन पनि टेवा पुग्ने विश्वास लिएका छौँ,” अधिकारीले भन्नुभयो ।