• १२ साउन २०८१, शनिबार

संसद्‍ प्रतिपक्षीविहीन नभएको सांसदको प्रतिक्रिया

blog

प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिनुहुँदै नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का ।

काठमाडौं, पुस २६ गते। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मंगलबार प्रतिनिधि सभाको संसद्‍मा दुई सय ७५ सांसदमध्ये दुई सय ७० मत अर्थात् बहुमत प्राप्त भयो। 

मंसिर ४ गते सम्पन्न प्रतिनिधि  सभा तथा प्रदेश सभा निर्वाचनबाट सबैभन्दा पहिलो दल बनेको नेपाली कांग्रेसले समेत विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डलाई ऐतिहासिक बहुमत प्राप्त भएको हो। तटस्थ मत जम्मा पाँच र प्रधानमन्त्रीको विपक्षमा दुई मत मात्रै परेपछि संसद प्रतिपक्षीविहीन भएको अवस्थामा सरकार एवम् संसद्‍ कसरी अगाडि बढ्ला भन्ने राष्ट्रिय चासोको विषय बनेको छ। 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले मुलुकको समग्र परिस्थितिको विश्लेषण गरेर यसखाले निर्णयलिए पनि संसद प्रतिपक्षीविहीन नभएको प्रतिक्रिया दिनुभएको छ। 

संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै खड्काले भन्नुभयो, “सरकार जोगिनु, नजोगिनुभन्दा कांग्रेसले मुलुकको परिस्थितिको विशलेषण गर्‍यो। विशिष्ट परिस्थितिको मूल्याङ्कन गर्यो‍। मुलुकको आर्थिक अवस्था, संविधानको रक्षा यी सबै कुरा जोडेर विशेष निर्णय गरेका छौं। बुँदागत रुपमा संसद्‍मा सबै कुरा सभापति एवम् संसदीय दलका नेताले राख्नुभएको छ, प्रतिपक्षीविहीन अवस्था छैन।”

उहाँले वि‍. सं. २०५१ मा पनि तात्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि भोट हालेर कांग्रेस प्रतिपक्षीमा रहेको स्मरण गराउनुभयो। “२०५१ मा पनि मनमोहनलाई भोट हालेर प्रमुख प्रतिपक्षी थियौं। अहिले पनि त्यही अवस्थामा छौं”, खड्काले भन्नुभयो। 

यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यसअघि तात्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा प्रतिपक्षी रहदा पनि हालका प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनुभएको बताउनुभयो।

अध्यक्ष नेपालले भन्नुभयो, “संसदीय व्यवस्थामा यो हुन्छ। प्रचण्डजीले पनि नेपाली कांग्रेसका प्रधानमन्त्री सुशील कोइरालालाई प्रतिपक्षीमा हुँदा समर्थन जनाउनुभएको थियो। तपाईंहरुलाई सजिलै थाहा छ, प्रचण्डजीलाई उताबाट बनाउने कि, यताबाट बनाउने भन्ने थियो। आपत्ति जनाउनुपर्ने छैन।” 

यस्तै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको माग, मुद्दासहित सरकारलाई समर्थन गरेको बताउनुभयो। श्रेष्ठले भन्नुभयो, “माग, मुद्दासँगै हामीले पनि सरकारलाई समर्थन गरेका छौं। प्रधानमन्त्रीलाई समर्थन गर्ने भनेर पत्र बुझाइसकेपछि हामीले प्रधानमन्त्रीलाई समर्थन गरेका हौं।” 

उहाँले रेशम चौधरीसहित कैदीबन्दीलाई रिहाइ गर्नेमा विश्वास व्यक्त गर्नुभयो। सरकारलाई समर्थन जनाए पनि नागरिक उन्मुक्ति प्रतिपक्षमा रहेको उहाँले बताउनुभयो।