काठमाडौँ, पुस २६ गते । राष्ट्रिय सभा सदस्यले जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई सम्बोधन गर्दै अगाडि बढ्न नवनिर्वाचित जनप्रतिनिधि संस्थालाई आग्रह गर्नुभएको छ। सरकारका थुप्रै चुनौती रहेको बताउँदै उहाँहरूले ती चुनौती अवसरका रूपमा लिएर अगाडि बढ्न आग्रह गर्नुभयो।
राष्ट्रिय सभाको १३औँ अधिवेशनको सोमबार बसेको पहिलो बैठकमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सदस्य उर्मिला अर्यालले नागरिकता विधेयक तुरुन्तै संसद्बाट अनुमोदन गरी व्यवस्थित गर्न सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “निर्माण उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन हुनेगरी विकास गर्न, संवाद गरेर सार्कलाई गतिशील बनाउन तथा प्युठान–बाग्लुङ राजमार्ग निर्माणका लागि सहजीकरण गर्न तथा तराई–मधेश र उत्पीडित समुदायका महिलालाई अर्थोपार्जनमा सक्रिय सहभागिता बढाउने कार्यक्रम सञ्चालन गर्न ध्यानाकर्षण गराउन चाहन्छौँ।”
नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझीले संविधान र व्यवस्थाप्रति विश्वास बढाउन काम गर्न जोड दिनुभयो। उहाँले भन्नुभयो, “देशमा व्याप्त आर्थिक मन्दी, कालाबजारी, भ्रष्टाचार अन्त्य गर्न नवनिर्वाचित जनप्रतिनिधि संस्थाले प्रमुख दायित्व निर्वाह गरोस्।” उहाँले जनताको हितका समस्या समाधान गर्न एकल पहलले सम्भव नभएको अवस्थामा सहमति, सहकार्य र एकताको भावनालाई आत्मसात् गरे रचनात्मक प्रतिपक्षको भूमिकामा रहने आफ्नो दलले सधैँ सहयोग गर्ने बताउनुभयो।
उहाँले कानुनबाट सफाइ नपाएका र स्वार्थ बाझिएका व्यक्ति राज्यको प्रमुख निकायमा हुँदा शासन व्यवस्थाको मूल्य–मान्यतालाई कसरी बलियो बनाउन सकिन्छ भनी प्रश्न गर्नुभयो।
नेकपा (एमाले)का राष्ट्रिय सभा सांसद देवेन्द्र दाहालले वर्तमान सत्ता समीकरणलाई संशय नगर्न र असफल बनाउनेतिर नलाग्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभयो। उहाँले रोकिएको समृद्धिको यात्रालाई अगाडि बढाउन, सरकारी कार्यालयमा व्याप्त घुस नियन्त्रण गर्ने तथा ठप्प रहेको विकास निर्माणलाई अगाडि बढाउनुपर्ने यथार्थलाई सरकारले महसुस गरेर सोहीअनुरूप अगाडि बढ्नुपर्ने बताउनुभयो।
नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित सदस्य डा. वेदुराम भुसालले सरकारले अर्थतन्त्र पुनरुत्थानका लागि आवश्यक पहल गर्न सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “अर्थतन्त्र चलायमान बनाउने क्षेत्र कृषि हो। कृषि उत्पादनमा वृद्धि हुने कार्य गर्न जरुरी छ।” भुसालले विगतमा संसद्लाई बन्धक बनाउने काम गरिएकोमा आलोचना गर्दै आफ्ना स्वार्थका लागि संसद्लाई बन्धक बनाउने काम प्रतिपक्षले गर्न नहुने बताउनुभयो।
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रमिला कुमारीले वर्तमान निर्वाचन प्रणालीमा बहुमत प्राप्त गर्ने नसकिने भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अङ्गीकार गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्नुभयो। उहाँले नागरिकता विधेयक यथाशीघ्र अगाडि बढाउन जोड दिनुभयो।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शेखरकुमार सिंहले मधेशमा शीतलहरबाट कठ्याङ्ग्रिएर मृत्यु हुने बढेकाले समुचित व्यवस्थापन गर्न तथा दुवै सदनबाट पारित भएका विधेयक छिटोभन्दा छिटो आवश्यक प्रक्रियामा लैजान सुझाव दिनुभयो। राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई रक्षा गरेर अगाडि बढ्न सरकारलाई शुभकामना दिनुभयो।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा र राष्ट्रिय सभाका पूर्वसदस्यको निधन भएकोमा शोक प्रस्ताव पेस गर्नुभएको थियो। बाह्रौँ अधिवेशन अन्त्य भएको ११५औँ दिनमा १३औँ अधिवेशन सुरु भएको हो। राष्ट्रिय सभाको आगामी बैठक पुस २९ गते १ बजे बस्नेगरी स्थगित भएको छ।
यसैबीच राष्ट्रिय सभाको रिक्त रहेको एक पदका लागि माघ ११ गते उम्मेदवारी दर्ता हुने भएको छ। लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाको रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत गर्दै उम्मेदवारी दर्ताको मिति तोकेको हो।