काठमाडौँ, पुस २६ गते । नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यमा निकै चुनौती थपिएको छ। नेपालसहित दक्षिणपूर्वी ११ राष्ट्रले विश्व स्वास्थ्य सङ्गठनसमक्ष सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता जनाएका थिए।
सोमबार साँझसम्ममा बाँकेका ८० जना बालबालिकामा दादुरा रोग पुष्टि भएसँगै दादुरा उन्मूलनमा चुनौती थपिएको हो। तीमध्ये एक जनाको निधन भइसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बाँकेमा अप्रत्यासित रूपमा दादुरा फैलिएको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट दादुरा नियन्त्रणका लागि टोली पठाइसकेको बताउनुभयो।
शनिबार साँझसम्ममा बाँकेको नेपालगञ्जमा ६४ जना बालबालिकामा मात्र दादुरा पुष्टि भएको थियो। २४ घण्टा नबित्दै थप १६ जना बालबालिकालाई दादुरा पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले सोमबार ४ बजेसम्म ८० जना बालबालिकालाई दादुरा पुष्टि भएको जानकारी दिनुभयो। रोग नियन्त्रण महाशाखाबाट विज्ञसहितको टोली खटिइसकेको जानकारी दिँदै उहाँले दादुरा महामारी नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। स्थानीयदेखि केन्द्र सरकारसम्म दादुरा नियन्त्रणमा लागेको भन्दै उहाँले सरकारले दादुरा नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो।
विगतका वर्षमा पनि फाट्टफुट्ट रूपमा देखापर्ने दादुरा यो वर्ष भने महामारीका रूपमा देखापरेको छ। एकै समुदाय वा एकै ठाउँका पाँच जनाभन्दा बढीलाई दादुरा पुष्टि भएको अवस्थामा त्यसले महामारीको रूप लिने गर्छ।
परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले खोप लगाएको ठाउँका बालबालिकालाई दादुरा देखिएको भए खोपसम्बन्धी प्रभावकारिता अध्ययन गर्न सकिने बताउनुभयो। बाँकेका जुन स्थानमा दादुरा फैलिएको छ, त्यहाँका बालबालिकाले दादुराविरुद्ध खोप नलगाएको पाइएको भन्दै उहाँले उक्त स्थानमा धार्मिक र सांस्कृतिक कारणले गर्दा खोप नलगाएको उल्लेख गर्नुभयो। उहाँले मुस्लिम धर्ममा आस्था राख्ने बालबालिकाले खोप नलगाएको जानकारी दिँदै उनीहरूका धर्मगुरुलाई राखेर जनचेतना जगाउने काम भइरहेको बताउनुभयो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले नेपालगञ्जमा महामारीका रूपमा दादुरा पुष्टि भएको भन्दै दादुरा उन्मूलनमा चुनौती थपिएको बताउनुभयो। खोप नलगाउने दर घट्दै जानु र एकै ठाउँमा ८० भन्दा बढी बालबालिकालाई दादुरा पुष्टि हुनुले दादुरा उम्मूलनमा समस्या आउन सक्ने उहाँको भनाइ छ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामबहादुर चन्दले तीन वडामा दादुराको खोप लगाउने काम भइरहेको बताउनुभयो। हालसम्म दुई हजार दुई सयलाई खोप लगाइसकिएको छ। उहाँका अनुसार नेपालगञ्जको वडा नम्बर १, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ तथा खजुराको वडा नम्बर २ मा समेत दादुरा पुष्टि भएको बताउनुभयो। उहाँले दादुरा देखिएका सबै वडामा छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुराविरुद्ध खोप लगाउने काम भइरहेको बताउनुभयो।