गोरखापत्र अनलाइ
काठमाडौं, पुस २५ गते । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले सरकारले पुस २७ गते पृथ्वीजयन्तीको दिन सार्वजनिक बिदा दिने गरेको निर्णयप्रति आपत्ति जनाएको छ । सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पुस २७ गते पर्ने पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने उल्लेख भएकोप्रति महासङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
आज यहाँ पत्रकार सम्मेलन गर्दै महासङ्घका अध्यक्ष गेल्जे शेर्पाले सो निर्णयको विरोध गर्नुभयो । “गणतन्त्र नेपालमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु भनेको राजा महाराजाको भक्तिगान गाउनु हो, यो प्रक्रिया प्रतिगमनकै पहिलो कदम हो” महासङ्घले भनेको छ ।
‘पृथ्वीनारायण शाहले सहमतिको आधारमा नभई गोरखा राज्य विस्तारका लागि फौजी आक्रमणको बलमा आदिवासी जनजाति समुदायको विभिन्न स्वशासित राज्यलाई निर्ममतापूर्वक कब्जामा लिएको बुझाइ महासङ्घको छ । ‘गणतन्त्र नेपालमा कुनै पूर्व राजाको जन्मदिनलाई एकता दिवस मनाउनु राजा महाराजाको भक्तिगान गाउनु हो’ महासङ्घका अध्यक्ष शेर्पाले भन्नुभयो ।
‘मन्त्री तथा सांसदको शपथ ग्रहणमा दौरासुरुवाल र खस—नेपाली भाषालाई राष्ट्रिय पोसाक र राष्ट्र भाषा बनाउने गरी क्रियाकलाप भएका छन्, नेपालको राष्ट्र र राष्ट्रियताको गलत व्याख्या गरी बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुराष्ट्रियता र बहुजातीयता विपरीत छ’ महासङ्घले भनेको छ ।
राज्यको पछिल्लो गतिविधि ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह, थरुहट आन्दोलन र आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धिहरू गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी व्यवस्था विपरीत भएको पनि महासङ्घले आरोप लगाएको छ । यस्तै महासङ्घले सरकारले आफ्नो आग्रहलाई बेवास्ता गरेमा थप सङ्घर्षका कार्यक्रम अघि बढाउने महासङ्घले चेतावनी दिएको छ ।