• १२ मंसिर २०८१, बुधबार

ऐतिहासिक ठूलो आँगनमा पृथ्वीनारायण शाहको सालिक

blog

नरेन्द्र ढकाल

गोरखा, पुस २५ गते । ऐतिहासिक ठूलो आँगनमा पृथ्वीनारायण शाहको सालिक निर्माण भएको छ। विरोध र अनेकौँ चर्चा परिचर्चाका बीच अन्ततः गोरखा नगरपालिकाले शाहको सालिक निर्माण गरेको हो। गोरखा नगरपालिका–६, ठूलो आँगनको मध्यभागमा सालिकसहितको मनोग्रामसमेत बनाइएको छ। “सालिक राख्ने काम सकिएको छ। अरू काम अन्तिम चरणमा पुगिसकेको छ,” गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले भन्नुभयो। 

मनोग्राममा नेपालको झन्डा, नक्सा र सालिक राखिनेछ। पृथ्वीनारायण शाहको सात फिट तीन इन्चको सालिक राखिएको छ। नौ लाख ९५ हजार रुपियाँ लागतमा सालिक निर्माण भएको इन्जिनियर ढकालले बताउनुभयो। यो परियोजना निर्माणका लागि गोरखा नगरपालिकाले २२ लाख बजेट विनियोजन गरेको थियो। सालिक निर्माणका लागि १० लाख, मनोग्राम निर्माणका लागि पाँच लाख बाँकी सात लाख रुपियामाँ पृथ्वीनारायण शाह, शाहकालीन इतिहास र नेपाल एकीकरणका फोटाहरू राखिनेछन्। 

ठूलो आँगन र आसपासका क्षेत्रका भित्तामा फोटाहरू राखिएको उहाँले जानकारी दिनुभयो। गोरखा नगरपालिका र नेपाली सेनाको संयुक्त प्रयासमा मनोग्राम निर्माण गरिएको हो। उक्त मनोग्रामको पुस २७ गते पृथ्वी जयन्तीका दिन प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गर्ने कार्यक्रम छ। 

“हामीले पृथ्वी जन्यतीका दिन देशभरका नेपाली सेनाका ब्यारेकहरूमा राष्ट्रनिर्माता सलामी अर्पण गर्ने गथ्र्यौं,” रिपुमद्र्धन गणका गणपति हेमराज विष्टले भन्नुभयो, “नेपालको उद्गम स्थलमा दैनिक रूपमा सलामी दिँदा झन् यसको छुट्टै महत्त्व हुन्छ। यो पृथ्वीनारायण शाहप्रतिको ठूलो सम्मान हो।” 

दैनिक बिहानको सूर्योदय र बेलुकीको सूर्यास्तको समयमा शाहकालीन नेपाली सेनाको पोसाकमा सेनाको परेड खेल्ने र सलामी अर्पण गर्ने बताइएको छ। “ठूलो आँगनमा राखिने सालिक र त्यसले गर्ने पर्यटन प्रवद्र्धनले सिङ्गो गोरखाले फाइदा लिन सक्छ,” गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले भन्नुभयो। यसबाट गोरखाको समग्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्नेछ। नेपाल एकीकरणको इतिहासमा गोरखाको छुट्टै पहिचान रहेकाले इतिहासलाई जोगाउँदै त्यसको प्रचारप्रसार गरेर जिल्लाले फाइदा लिन सक्नुपर्ने उहाँको भनाइ छ।  

अहिले सालिक राखिएको ठूलो आँगनको गेटमै गोरखा सङ्ग्रहालय छ। सङ्ग्रहालयभित्र पनि शाहको पूर्ण कदको सालिक रहेकाले दुईवटा सालिक आवश्यक नपर्ने कतिपयको भनाइ छ। ठूलो आँगनमा सालिक बनाउन हुने÷नहुने विषयमा पहिले विवादसमेत भएको थियो। सती पीपल, घलाङ, नारेश्वरलगायत ठाउँका स्थानीयवासीले सालिक निर्माण गर्न खनेको खाल्डोसमेत पुरिदिएका थिए। पछि गोरखा नगरपालिका र वडा नं. ६ को पहलमा सर्वपक्षीय सहमति कायम गरी सालिक निर्माण गरिएको हो। उक्त सालिक निर्माणपछि सवारी आवागनमा समस्या पर्ने भन्दै तत्काल वैकल्पिक बाटो निर्माण गर्नुपर्ने सरोकारवालाको माग छ।