मधेश प्रदेश ब्युरो
जनकपुर, पुस २५ गते । मधेश प्रदेशमा शीतलहरले जनजीवन अत्यन्त कष्टकर बनेको छ। बिहान बेलुका चिसो हावा र शीतलहरसँगै बाक्लो हुस्सुले कठ्याङ्ग्रिने गरेको छ। शीतलहरबाट जोगिन र न्यानो भएर बस्न गरिब, दलित बस्ती तथा बजारका चोकहरूमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको छ।
रौतहट समाचारदाता यादवराज पुरीका अनुसार शीतलहरको कारण रौतहटका विद्यालय धमाधाम बन्द हुँदै छ। कठ्याङ्ग्रिँदो जाडोका कारण विद्यालयमा बालबालिकाको उपस्थिति न्यून हुन थालेको छ।
जिल्लाको मध्यभाग गरुडा र कटहरिया नगरपालिकाले आइतबारदेखि नै विद्यालय बन्दको सूचना प्रकाशन गरेको छ। गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबुराय यादवले नगरपालिकाभित्रका निजी तथा संस्थागत सबै विद्यालय आउँदो मङ्गलबारसम्म तीन दिन बन्द गरिने निर्णय गरेको बताउनुभयो। उहाँका अनुसार मौसमको अवस्था हेरी बिदा बढाउन सकिनेछ।
यस्तै कटहरिया नगरपालिकाले आइतबारदेखि आउँदो शुक्रबारसम्म छ दिन विद्यालय बन्दको सूचना जारी गरेको छ। पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश यादवले जाडोका कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएपछि बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिने निर्णय गरेको बताउनुभयो।
जिल्लाको गढीमाई, परोहा, फतुवाविजयपुर, राजदेवी, माधवनारायण नगरपालिका र यमुनामाई गाउँपालिकाले गत सातादेखि नै विद्यालय बन्द गरेका छन्। उहाँका अनुसार चन्द्रपुर नगरपालिकाबाहेक जिल्लाका सबै पालिकाका विद्यालय बन्द रहेको छ।
जिल्लाको उत्तरी क्षेत्र चन्द्रपुर नगरपालिकाका विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालनमा रहेको हुँदा विद्यालय खुलेका छन्। यसैबीच शीतलहरका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि जिल्लाको कटहरिया नगरपालिकाले दाउराको प्रबन्ध गरेको छ। पालिका प्रमुख अजयप्रकाश जयसवालले डिभिजन वन कार्यालयसँग समन्वय गरी पालिकाको नौवटै वडामा दाउरा उपलब्ध गराउनुभएको छ । उहाँ भन्नुहुन्छ, “उपलब्ध दाउरा सर्वसाधारणको जमघट हुने सार्वजनिक स्थल वा चोक/चोकमा बालिने गरी वितरण गरिनेछ।”
सिरक वितरण
बोदेबर्साइन समाचारदाताका अनुसार आइतबार सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ स्थित मुसहर बस्तीमा २० परिवारलाई न्यानो कपडासँगै ओढ्ने सिरक वितरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी दीपेन्द्र थापाले विपन्न बस्तीमा कपडा वितरण गरिएको जानकारी दिनुभएको छ।
आगो ताप्ने व्यवस्था
सप्तरी समाचारदाताका अनुसार जाडो बढेपछि स्थानीय प्रशासनले राजविराजको विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको छ। अत्यधिक जाडो बढेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले आगो ताप्ने व्यवस्था मिलाइएको हो। शीतलहरबाट बच्न ठूलो मद्दत पु¥याउने विश्वासका साथ आगो ताप्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रजिअ भूपेन्द्र थापाले बताउनुभयो।
राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, अदालत, रुपनी मोड, जिल्ला प्रशासन कार्यालयलगायतका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको छ। यसअघि चिसोका कारण कठ्याङ्ग्रिएर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको छ।
मृतक परिवारलाई राहत
यसैबीच राजविराज समाचारदाताका अनुसार चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएका तिलाठी कोइलाडी गाउँपालिका–४, मुसहर टोलका देवु सदाको परिवारलाई गाउँपालिकाले आइतबार राहत सामग्री प्रदान गरेको छ। गत बिहीबार राति खाना खाएर सुतेका ४५ वर्षीय राजु भनिने देवु सदाको चिसोका कारण मृत्यु भएको थियो।
कम्बल वितरण
त्यसैगरी सप्तरीको तिरहुत गाउँपालिका वडा नं. २ का एकल महिला, दलित, गरिब तथा अतिविपन्न ५५ जना परिवारलाई एक/एक थान कम्बल वितरण गरिएको छ। इन्जिनियर काविन्द्र यादवको सहयोगमा करिब १६ हजार पाँच सय बराबरको कम्बल वितरण गरिएको स्थानीय अनिलकुमार यादवले जानकारी दिनुभयो। इन्जिनियर यादव आफ्नो आम्दानीको केही हिस्साबाट शीतलहरबाट जोगिन खरिद गरिएको कम्बल स्थानीय भवानीदेवी यादवद्वारा वितरण गरिएको उहाँले जानकारी दिनुभयो।
न्यानो बाँड्दै नेपाली सेना
जलेश्वर समाचारदाता महेशकुमार दासका अनुसार नेपाली सेनाको रणभीम गणले बढी प्रभावित, गरिब र विपन्न समुदायका सर्वसाधारणलाई न्यानो बाँड्ने अभियान थालेको छ। नेपाली सेनाले बिहीबार सीमावर्ती बजार मटिहानीमा चिसोले प्रभावित बस्तीमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाउनुका साथै शरीर तताउन चिया वितरण गरेको थियो। नेपाली सेनाले मटिहानीको बस स्टेसन, बजार क्षेत्र, ग्रामीण बस्ती गरी करिब १० ठाउँमा शीतलहर र जाडोबाट दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइदिएको मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले बताउनुभएको छ।