• १ जेठ २०८२, बिहिबार

रास्वपाले सरकारलाई विश्वासको मत दिन अन्य पार्टीलाई आग्रह गर्ने

blog

उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । फाइल तस्बिर

काठमाडौं, पुस २४ गते। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दललाई आग्रह गर्ने निर्णय गरेको छ। आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बैठकमा सरकारले प्रस्तुत गर्न लागेको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल गरेको जानकारी दिनुभएको हो। उहाँले बैठकमा पार्टीका तर्फबाट महामन्त्री एवं न्यूनतम साझा कार्यक्रम कार्यदलका सदस्य मुकुल ढकालले न्यूनतम साझा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको बताउनुभयो। 

उहाँले न्युनतम साझा कार्यक्रममा आफ्नो पार्टीले अघि सारेका मुद्दा स्थापित भएको बताउनु भयो। बैठकमा नवनिर्वाचित सांसदले आफ्नो गृह जिल्लाको भ्रमण गरेको बारेमा पनि जानकारी गराएको उहाँको भनाइ छ।  

उहाँले भन्नुभयो, ‘‘हाम्रो संसदीय दलको बैठक सिंहदरबारमा बस्यो। हामीले सरकारले प्रस्तुत गर्न लागेको न्युनतम साझा कार्यक्रम हाम्रो छलफल भयो। पार्टीका तर्फबाट महामन्त्री मुकुल ढकाल जो न्युनतम साझा कार्यक्रमको समितिमा सदस्य हुनुहुन्थ्यो। त्यसमा बनाउँदा के भयो भन्ने छलफल भयो। हाम्रा मुद्दा स्थापित भएका छन्। त्यसको बारेमा छलफल भयो, गृह जिल्लामा सांसदको अवस्था जनताको के छ भन्ने बारेमा छलफल भयो। भोलि १० बजे पुनः संसदीय दलको बैठक बस्नेछ। सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दललाई आग्रह गर्ने कुरा भयो।’

सांसद परियारले पार्टीको संसदीय दलको बैठक सोमवार बिहान १० बजे पुनः बस्ने जानकारी गराउनुभएको छ।