• १३ असोज २०८१, आइतबार

संघीय संसदको पहिलो बैठक

तयारी पूरा, बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २४ गते । सोमबार अपराह्न १ बजेका लागि आह्वान भएको सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको हो । पहिलो बैठकमा सबै दलबाट संसदीय दलका नेताले सम्बोधन गर्नुहुनेछ ।

अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा गरिएको उहाँले बताउनुभयो । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक भोलि एकै समयमा बस्दैछ । प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । सोही बैठकको निर्णयअनुसार सङ्घीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सङ्घीय संसद्को भोलिदेखि अधिवेशन सुरु हुँदैछ । दुवै सभाका बैठकहरू एकसाथ १ बजेबाट सुरु हुन्छ ।’ सङ्घीय संसद् सचिवालयले यसको सन्दर्भमा गर्नुपर्ने तयारीहरू पूरा गरिसकेको उहाँको भनाइ छ । ‘अहिले केही नयाँ दलहरू संसदमा आएकाले दलका लागि आवश्यक पर्ने संसदीय दलका कार्यालयहरू हामीसँग थिएनन् । न ठाउँ थियो, न हामीसँग पर्याप्त स्रोत, साधन ।  तत्काल हामीले नेपाल सरकारसँग समन्वय गरेर केही संरचनाहरू बनायौँ’ उहाँले भन्नुभयो । ती दलबाट निर्वाचित हुने पदाधिकारीहरूलाई कानुन बमोजिम सवारी साधन उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उहाँको भनाइ छ । त्यसका लागि पर्याप्त सवारी साधन नभएको उहाँले बताउनुभयो । सरकारसँग त्यसबारे पहल भइरहेको उहाँको भनाइ छ । 

“सबै हिसाबले हामी अधिवेशनका तयारीको काम पूरा गरेका छौँ । कर्मचारीहरूलाई खटाउने व्यवस्था भएको छ । अरू साजसज्जाका कुराहरू, सरसफाइका कुराहरू हामीले पूरा गरेका छौँ” सहायक प्रवक्ता धमलाले भन्नुभयो । राष्ट्रियसभा अन्तर्गत पनि आज कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको उहाँले बताउनुभयो । 

सङ्घीय संसद् सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरूलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको उहाँले बताउनुभयो । सङ्घीय संसदमा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ । सहायक प्रवक्ता धमलाले भन्नुभयो, ‘१२ वटा दलहरूलाई समेटेर यो सिटको व्यवस्थापन गर्नुपर्नेछ ।’ 

सबै दलहरूलाई फ्रन्टमा नेता रहने र पछाडि अरू सदस्यहरू रहनेगरी सिटको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची तय गरिएको उहाँले जानकारी दिनुभयो । सङ्घीय संसदमा सांसदहरूले पनि ई–हाजिरी गर्ने व्यवस्था मिलाइएको छ । भोलिबाट परीक्षणका लागि राष्ट्रियसभामा सुरु हुने र परीक्षणपछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको उहाँको भनाइ छ ।