• ५ कात्तिक २०८१, सोमबार

सरकारले विश्वासको मत प्राप्त गर्छ : अध्यक्ष ओली

blog

आइतबारदेखि धुलिखेलमा सञ्चालन भएको एमालेका जनसङ्गठन सुदृढीकरण कार्यशालाको उदघाटन गर्नुहुँदै पार्टी अध्यक्ष केपी शर्मा ओली । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, पुस २४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नुहुने बताउनुभएको छ । धुलिखेलमा आयोजित एमालेको जनसङ्गठनहरूको सुदृढीकरण कार्यशाला गोष्ठीमा आइतबार उहाँले सो कुरा बताउनुभएको हो । 

फरक मोडमा पुगेको नेपालको राजनीतिको कोर्ष परिवर्तन गराउन आफूहरू सफल भएको उहाँको भनाइ छ । “गलत बाटोमा लगिएको राजनीतिलाई निर्वाचनपछि हामीहरूले सही दिशामा ल्याउने सफल भएका छौँ” उहाँले भन्नुभयो ।  

एमाले रक्तविजजस्तो भएको दाबी गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार नेपाली जनताले बनाएको सरकार भएकाले पुस २६ गते सरकारले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारलाई विश्वासको मत नदिनका लागि अनेक चलखेलहरू भएको बताउँदै सरकारलाई असफल बनाउने सबै प्रयासहरू असफल हुने उहाँले बताउनुभयो । 

एमालेको समर्थनमा बनेको सरकार भएकाले वर्तमान सरकारले विश्वासको मत प्राप्त गर्छ उहाँले भन्नुभयो । एमालेले नै राष्ट्रिय राजनीतिको एउटा कोर्ष परिवर्तन गरेको दाबी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “वर्तमान सरकारलाई जोगाएर सफल बनाउनुपर्ने आवश्यकता छ, त्यसका लागि पार्टीको तर्फबाट सबै सहयोग हुन्छ ।”

पार्टीभित्रका सङ्गठनहरू विस्तार, सुदृढीकरण र गतिशील भई आफ्नो वर्ग, पेसा, क्षेत्रका सबै नागरिकलाई समेटेर अघि बढ्न उहाँले निर्देशन दिनुभयो । आगामी निर्वाचनमा एमालेको पक्षमा बहुमत ल्याउन सबै जनसङ्गठनहरूले अहिलेदेखि नै आफ्ना कामहरू अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । 


एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार जादुमयी तरिकाले नबनेको बताउँदै मूलकुको आवश्यकताअनुसार गठन भएको बताउनुभयो । सरकार गठन भएपछि सरकारको विकल्प खोज्ने प्रयासस्वरुप विभिन्न पदहरु बाँडिए पनि त्यो सफल नहुने बताउनुभयो । 

सरकार गठनमाभन्दा विश्वासको मत दिने समयमा सांसदको सङ्ख्या बढी पुग्ने पनि उहाँले दावी गर्नुभयो । अप्ठेरो र चुनौतीपूर्ण समयमा सरकार निर्माण भएकाले सरकारले सकरात्मक जवाफ दिँदै अघि बढ्ने उहाँको भनाइ छ । दुई दिनसम्म चल्ने कार्यशालामा एमालेका २३ वटा जन सङ्गठनका एक सय पचासभन्दा बढी पदाधिकारीहरुको सहभागिता रहेको छ । कार्यशालामा महासचिव शङ्कर पोखरेल, सचिव योगेश भट्टराईलगायतको प्रशिक्षण रहने एमालेले जनाएको छ ।