• १३ मंसिर २०८१, बिहिबार

बाबुरामको पार्टीले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने

blog

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक ।

काठमाडौं, पुस २४ गते। नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ।

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा आइतबार सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ। 

डा. भट्टराइले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको नेसपाका सह–अध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो। न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने जानकारी दिनुभएको हो। सो समितिलाई माओवादी केन्द्र लगायतका अन्य पार्टीसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने उहाँले प्रष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘हामीले एउटा दस्ताबेज बनाएका छौँ। खासगरी समाजवादी ध्रुवीकरणको आवश्यकता। यो विषयमा एउटा दस्ताबेज छ र त्यो दस्ताबेजमा हामीले पाँच वटा खण्ड राखेका छौँ। समाजवादी ध्रुवीकरण भनेकै वास्तवमा यो अहिले पार्टी एकतासँग सम्बन्धित कुरा हो। बैठकको अन्त्यसम्म पुग्दा नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता सम्पन्न गर्नको लागि एउटा वार्ता समिति पनि बनाउँछौँ। त्यसले अरू पार्टीसँग पनि समाजवादी ध्रुवीकरणको लागि आवश्यक छलफल, बहस र पहल/प्रयत्न गर्नका लागि एउटा अधिकारसहितको त्यो निर्णय गर्छौँ।’

अध्यक्ष भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ। प्रारम्भ, पार्टी निर्माणका सात वर्ष एक सिंहावलोकन, सङ्घ र प्रदेशको निर्वाचन २०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो। आगामी कार्ययोजना अन्तर्गत राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख भएको छ। सह-अध्यक्ष श्रेष्ठले बैठक सोमबारसम्म चल्ने जानकारी दिनुभयो।