• १३ मंसिर २०८१, बिहिबार

काँग्रेसले २६ गते निर्णय गर्ने

blog

काठमाडौँ, पुस २४ गते । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय मङ्गलबार बस्ने बैठकबाट गर्ने भएको छ।

सिंहदरबारमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइरहँदा पार्टीको रणनीति तयार गर्ने सन्दर्भमा सोही दिन निष्कर्षमा पुग्ने निर्णय गरेको हो। कांग्रेसका महामन्त्री गगनकुमार थापाले भन्नुभयो, “प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ। हामी त्यही दिन छलफल गरेर निधो गर्छौं। दोस्रो र तेस्रो पार्टीले सरकार बनाएर विश्वासको मत लिँदै गर्दा कांग्रेस प्रतिपक्षमा बस्ने हो। हामी विश्वासको मत दिँदैनौँ।”

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकमा संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने निर्णय भएको छ। उहाँले भन्नुभयो, “संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने निष्कर्ष बैठकले निकालेको छ। साथै बैठकमा नयाँ सांसदहरूलाई संसदीय पद्धतिका विषयमा प्रशिक्षित गरिएको छ।”

कांग्रेसका महामन्त्री थापाले कांग्रेसले कुनै पनि दलका अमुक नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्ने आश्वासन नदिएको बताउनुभयो। उहाँले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग सभापति शेरबहादुर देउवाले छलफल गरे पनि कसैलाई प्रधानमन्त्रीमा समर्थन गर्ने आश्वासन नदिएको बताउनुभयो। 

“बाहिर जुन खालको हल्ला छ ति निराधार मात्रै होइन, प्रायोजित पनि हुन्। न संविधानले मिल्छ, न त नेपाली कांग्रेसले गर्छ,” उहाँले भन्नुभयो।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले संसदीय दलको बैठकमा संसदीय जिम्मेवारी, सांसदको दायित्वका सन्दर्भमा भनाइ प्रस्तुत गर्नुभयो।