• १३ मंसिर २०८१, बिहिबार

बाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार छ : अध्यक्ष नेपाल

blog

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौं, पुस २३ गते । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताउनुभएको छ । 

पार्टी निकट नेवा राष्ट्रिय सङ्घको शनिबार राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताउनुभयो ।

उहाँले संवैधानिक तथा राजकीय पद बाँडफाँटमा कांग्रेसले गठबन्धनका सहयात्री दलको भूमिका र योगदानलाई महत्त्व नदिएर सबैमा दाबी गर्ने गैर राजनीतिक चरित्र प्रस्तुत गरेको उल्लेख गर्दै केही नेताको अहङ्कारले नयाँ ध्रुवीकरण भएको विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर सङ्गठन सुदृढीकरणमा क्रियाशील हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

“सरकारको साझा नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र पार्टीले विश्वासको मत दिने वा समर्थन नगर्ने विषयमा निर्णय गर्नेछ”, अध्यक्ष नेपालले भन्नुभयो । 

पार्टीका जनवर्गीय सङ्गठन, स्थायी कमिटी र पोलिटब्युरो बैठकबाट अहिले सरकारमा नजान र सङ्गठन निर्माणमा केन्द्रित हुन सुझाव आएको उहाँको भनाइ थियो । उहाँले छरिएर रहेका वाम शक्तिलाई एकताबद्ध गरी बलियो कम्युनिष्ट शक्तिको खाँचो रहेकाले त्यसको निर्माणका लागि केही दलसँग छलफल भइरहेको जानकारी दिनुभयो। रासस