काठमाडौं, पुस २३ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवम् पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो ।
यही पुस २५ गतेदेखि सुरु हुने संसद् अधिवेशनमा पार्टी रणनीति र खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रित रहेर बैठकमा छलफल हुनेछ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारी एवम् सङ्घीय संसद्का सांसदहरूको सहभागिता छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि प्रतिनिधि सभाको अधिवेशन यही पुस २५ देखि प्रारम्भ हुँदैछ । निर्वाचनबाट कांग्रेसले प्रतिनिधि सभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ ।
सङ्घीय संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल नेकपा (एमाले) लगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री दाहालले यही पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुने तय भएको छ ।