• १६ असार २०८१, आइतबार

संसदीय गतिविधिलाई प्राथमिकता दिन अध्यक्ष ओलीको निर्देशन

blog

नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्यहरुलाई आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रशिक्षण दिनुहुँदै संसदीय दलका नेता केपी शर्मा ओली । तस्बिर : केशव गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २३ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कामलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको छ । पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरूको कामलाई प्राथमिकता दिएर अघि बढ्न अध्यक्ष ओलीले पार्टीका सांसदहरूलाई सचेत गराउनुभयो । शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमको आज शनिबार यहाँ उद्घाटन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको प्रशिक्षण कार्यक्रममा उहाँले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदहरू केन्द्रित हुनुपर्ने बताउनुभयो । पार्टी संसदीय दलको बैठकमा र अन्य गतिविधिहरूमा पनि समयमै पुग्ने काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हामीले कुनै पनि कार्यक्रमका लागि समयमा आउने र समयभरी बस्ने र खासगरी हामी सांसदहरूलाई संसदीय अभ्यासमा संसद्को बैठकमा भाग लिन नभ्याउने, संसद्को काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरू बाहिर–बाहिर भ्याउने भन्ने कुरा हुँदैन ।’ 

कहिले–कहिले नभ्याउने परिस्थिति पनि पर्न सक्छ । तर आमरुपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौँ, हामी सांसद हौँ । र, हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनुपर्छ । संसदीय दलको बैठक जति बजे बोलायो, त्यति बजे उपस्थित हुनुपर्छ उहाँले भन्नुभयो ।

‘संसदीय अन्य गतिविधिहरूमा जति बजे बोलाइएको छ, त्यतिबजे उपस्थित हुनु पर्छ । समयसीमाको पालना गर्नुपर्छ । त्यसमा सबै साथीहरूले ध्यान दिनुपर्छ’ उहाँले सांसदहरूलाई निर्देशन दिनुभयो ।